काठमाडौं– एसिसी यू–१९ एसिया कपअन्तर्गत नेपालले मंगलबार घरेलु टिम मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। समूह 'ए' कै अर्को खेलमा भारत र बंगलादेशबीच भिडन्त हुनेछ। दुई खेलबाट सेमिफाइनलमा पुग्ने २ टिमको टुंगो लाग्नेछ।
समूहका दुई चरणका खेलअघि अंक तालिकाको शीर्ष स्थानको बंगलादेशले दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। नेपाल र भारतले समान १–१ खेलमा जित र हार ब्यहोरेका छन्। दुवै टिमको २–२ अंक छ।

बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ। नेपाल र भारतका लागि भने सेमिफाइनलमा स्थान बनाउन जित निकाल्नैपर्छ।
बंगलादेशले जित निकालेमा नेपाललाई फाइदा हुनेछ। यो अवस्थामा नेपालले जित निकाले सेमिफाइनल पुग्ने पक्का छ। तर, भारत विजयी भएमा भने नेपालले मलेसियालाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ। किनकि भारत र नेपाल विजयी भएमा तीन टिमको समान ४–४ अंक हुनेछ। राम्रो रनरेट हुने २ टिम अन्तिम चारमा पुग्नेछन्।
समूहको दोस्रो खेलमा भारतलाई पराजित गरेको नेपाल उच्च मनोबलमा छ। नेपालले पहिलो खेलमा बंगलादेशलाई कडा टक्कर दिएको थियो। अन्तिम ओभरमा १० रन रोक्न नसक्दा नेपाललाई बंगलादेशले पराजित गरेको थियो। नेपालको तुलनामा मलेसिया कमजोर देखिएको छ। पहिलो खेलमा भारतसँग २ सय २ रनले पराजित मलेसिया सोमबार भएको दोस्रो खेलमा बंगलादेशसँग २ सय ६२ रनको फराकिलो अन्तरले हारेको थियो।
यता, नेपालले दुई महिनाअघि मलेसियालाई १० विकेटले पराजित गरेको थियो। एसिसी पूर्वी क्षेत्रीय प्रतियोगिताको सेमिफाइनलमा मलेसियालाई हराएर नेपालले फाइनलमा स्थान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।