काठमाडौं- नेपाल वायुसेवा निगमले २०७४ मंसिरमा बिबी एयरवेजलाई बिक्री गरेको निगमको पुरानो बोइङ ७५७ मा पनि गडबढी भएको फेला परेको छ।
निगमको आर्थिक विनियमावलीको ३२ अनुसार कबोल रकमको ५ प्रतिशत धरौटी लिनुपर्नेमा लिलाम बिक्रीको सूचना तथा बिक्री सम्झौतामा धरौटी समेत नलिएको महालेखाको ५६औं प्रतिवेदनमा उल्लेख छ।
निगमको विनियमावली २०६५ को विनियम २४० मा विमान तथा सो को इन्जिन बिक्री तथा लिलाम गर्दा अपनाउनुपर्ने कार्यविधि र विनियम ३२ मा बढाबढबाट लिलाम बिक्री गर्ने कार्यविधिको व्यवस्था छ।
कार्यविधिअनुसार लिलाम सकार गर्न सिलबन्दी खोल्नुअघि न्यूनतम मूल्यको ५ प्रतिशत नगद धरौटी राख्नुपर्ने, रकम बढाबढमा धरौटी थप गर्दै जानुपर्ने, साथै लिलाम सकारेका सामान उठाई लानुपर्ने अवधि र अन्य आवश्यक कुरासमेत लिलाम बढाबढको सूचनामा उल्लेख गर्नुपर्ने व्यवस्था विपरीत जहाज बिक्री भएको प्रतिवेदनमा उल्लेख छ।
बोइङ विमान न्यूनतम १.३९ मिलियनअमेरिकी डलरदेखि १.७ मिलियन डलरसम्म मूल्याकंन गरी बिक्री गर्न अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्दा प्रस्ताव प्राप्त भएको समेत नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
वार्ताबाट बिक्री गर्न १५ दिनको म्याद दिई सार्वजनिक सूचना प्रकाशन गर्दा प्राप्त ७ मध्ये ६ प्रस्तावकले मूल्य खुलाएकोमा उच्चतम रकम कबोल गर्ने एक प्रस्तावकको १६ करोड र दोस्रो बढी कबोल गर्नेले १५ करोड प्रस्ताव गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
पहिलो र दोस्रो बढी कबुल गर्ने प्रस्तावक सम्पर्कमा नआएकोले तेस्रो बढी कबोल गर्ने विमान कम्पनीसँग २०७४ मंसिर १२ मा विमान बिक्री सम्झौता गरी १४ लाख ६० हजार अमेरिकी डलर हुनेमा १४ करोड ९२ लाख निगमलाई प्राप्त भएको छ।
तर, निगमले विनियमावलीको विनियम ३२ अनुसार कबोल रकमको ५ प्रतिशत धरौटी लिनुपर्नेमा लिलाम बिक्रीको सूचना तथा बिक्री सम्झौतामा धरौटी सम्बन्धमा उल्लेखसमेत नगरेको प्रतिवेदनमा उल्लेख छ।
महालेखा परीक्षकको कार्यालयले केही दिन अगाडि सावैजनिक गरेको ५६औं प्रतिवेदनमा धरौटी राख्नु नपर्ने गरी प्रस्ताव आह्वान गर्नु त्रुटिपूर्ण रहेको जनाएको छ।
विमान बिक्री सम्झौतामा विमान जहाँ जुन अवस्थामा छ, सोहीअनुसार स्वीकार गर्नुपर्ने र सम्झौता मितिले ४५ दिनभित्र विमानको स्वामित्व बिक्रेताले दिनुपर्ने उल्लेख छ। तर, सो अवधिमा विमान जिम्मा नलिए हुने कारबाही तथा जरिबाना सम्बन्धमा सम्झौतामा उल्लेख नभएको प्रतिवेदनमा भनिएको छ।
निगमले पटकपटक पत्रचार गरेपनि विमान जिम्मा नलिएकोले स्वामित्व हस्तान्तरण भएको छैन। निगमले स्वामित्व हस्तान्तरण गर्न नसकी सो कार्य लम्बिन गएको र निगमलाई अनावश्यक बोझ परेको स्थिति देखिएको प्रतिवेदनमा उल्लेख छ।
यो जहाज एनआरएन अध्यक्ष भवन भट्टले किनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।