काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत आगामी संस्करणमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो। यससँगै एनपीएलमा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा उपलब्ध हुनेछ।
क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा डीआरएस भित्र्याउने तयारी भइरहेको बताएका थिए। उनका अनुसार दुई कम्पनीसँग प्रविधिको परीक्षणसमेत सम्पन्न भइसकेको थियो। प्रविधिको शुद्धता र विश्वसनीयता मूल्यांकन गरेपछि अन्तिम निर्णय लिइने उनको भनाइ थियो।
क्यानका अनुसार एनपीएलमा एलबीडब्लु (लेग बिफोर विकेट) को निर्णय पुनरावलोकनका लागि पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ। त्यसैगरी रनआउट, स्टम्पिङ र नो बलका निर्णय पनि रिभ्यू गर्न सकिनेछ।
यसपटक ब्याटमा बल लागेको वा नलागेको पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एज डिटेक्सन प्रविधिसमेत प्रयोग गरिनेछ। यसले बल ब्याटमा छोएको विषयमा निर्णय लिन सहयोग गर्नेछ।
त्यस्तै, हाइटका आधारमा वाइड बलको विश्लेषण, छक्काको दूरी र उचाइ मापन तथा बलिङसम्बन्धी अन्य तथ्यांक पनि उपलब्ध हुने क्यानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।