काठमाडौं– एसिसी यू–१९ एसिया कपको समूह चरणमा भारतलाई १९ रनले पराजित गरेपछि नेपाली युवा टिमको उच्च प्रशंसा भएको छ। नेपालमा मात्र होइन, भारतबाट पनि नेपाली टिमलाई बधाई आउने क्रम जारी छ।
भारतका चर्चित क्रिकेट विश्लेषक हर्ष भोग्लेले नेपाली टिमले प्रतिस्पर्धात्मक खेल खेल्न थालेकोमा खुसी व्यक्त गरेका छन्।
लगत्तै क्रिकेटको चर्चित वेब पोर्टल क्रिकइन्फोले पनि नेपाली युवा टिमबारे समाचार बनायो। क्रिकइन्फोले नेपाली टिमका प्रशिक्षक विनोद दाससँग कुराकारी गर्दै भारतीय युवा टिमका प्रशिक्षक राहुल द्रविडको भनाइ उल्लेख गरेको छ।
भारतका पूर्व कप्तान द्रविड नेपालका पूर्व कप्तान विनोद दासलाई बधाई दिन नेपालको ड्रेसिङ रुममै आएका थिए।
दासले भनेका छन्, 'खेलपछि द्रविडले बधाई दिए। उनले नेपालले उत्कृष्ट खेलेकाले जितको हकदार भएको बताए। साथै द्रविडले प्रतियोगितामा नेपालले अन्य टिमभन्दा राम्रो खेलेको पनि उल्लेख गरे। हाम्रो मिहिनेतलाई द्रविडले प्रशंसा गरेकोमा खुसी छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।