राजविराज– नयाँ वर्षसँगै तराईमा सिरुवा र जुडशीतल पर्व मनाइँदैछ। नयाँ वर्षको पहिलो तीन दिनसम्म सिरुवा पर्व मनाइन्छ। पहिलो दिनलाई थारुहरुले जुडशीतल भन्ने गरेका छन्।
खासगरी पूर्वी तराईका आदिवासीहरुमा सिरुवा पर्व मनाउने प्रचलन छ। झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा वस्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी लगायतका जातिले सिरुवा पर्व मनाउँछन्।
बैसाख १ गतेको विधिलाई सतुवाइन भनिन्छ। घरका देवी देवतालाई सातु, सख्खर चढाएर आफू तथा आफना साथीभाइ इष्टमित्रलाई खान दिइन्छ। यसैगरी पानी सिरुवा, काद सिरुवा र रंग सिरुवा गरी विभिन्न विधि पूरा गरी सिरुवा पर्व मनाउने गरिन्छ।
आइतबार पानी सिरुवा मनाइएको छ। घरका जेठा व्यक्तिले आफ्ना गृहदेवता, ग्रामदेवता र अन्य देवताहरूमा पवित्र जल चढाई अन्य कुटुम्व तथा आफुभन्दा सानालाई पनि जलले टाउकोमा थप्थपाई आशीर्वाद दिने र सानाले ठूलालाई खुट्टामा जल चढाई ढोग्ने चलन छ।
जुडशीतल मिथिलाञ्चलमा समेत विशेष उत्साहका साथ मनाइन्छ। प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनी मनाउने गरेका छन्। वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ।
जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित छ। जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ। मोरङ जिल्लाका थारूहरू हिलो र गोबर छ्यापेर पनि जुडशीतल मनाउँछन्।
देवतालाई जल चढाउँदा वर्षभरिको समय सुखद रहोस् भन्ने कामना गरिन्छ। सिरुवा प्रकृतिसँग जोडिएको लोकपर्व भएकोले घर वरीपरी रहेका रुखका जराहरुमा पानी हाल्ने, सडक र घर आसपासमा पानी छर्कने, कुवा र पोखरीहरु सफा गर्ने लगायतका प्रचलन पनि छन्।
सप्तरी, सिरहा, धनुषा लगायतका जिल्लामा भने ‘जुडशीतल’ आज मनाइँदैछ।
पर्वको अर्को दिन हिलो खेल्ने चलन छ, जसलाई काद सिरुवा भनिन्छ। वर्षभरिका दुःख कष्ट, पीडा र थकानलाई मेटाउन कादो सिरुवा खेल्ने गरिएको बताइन्छ। यसो गर्नाले शरीरलाई कुनै रोगव्याधी नलाग्ने विश्वास गरिन्छ।
अन्तिम दिन रंग र अबिर दलेर रंग सिरुवा मनाइन्छ। रङ्ग सिरुवामा एक अर्काबीच रङ्ग छ्यापेर शुभकामना आदानप्रदान गरिन्छ। रिस तथा मनमुटावलाई बिर्सेर रङ्ग खेली यो पर्व हर्ष उल्लासका साथ मनाउने गरिएको छ।
चैत मसान्तको बेलुका अघिल्लो वर्षमा फलेका मध्ये सातवटा तरकारी मिसाएर पकाएको सातसागी नयाँ वर्षको पहिलो दिन खाने चलन छ। साथै अन्य मिठा–मिठा परिकारसमेत खाने/खुवाउने गरिन्छ। पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान पनि गर्ने गरिन्छ।
सिरुवा पर्वमा ठाकुर बिसरी, ठाकुर ब्राह्मणी, बिसहरी र कालीको पूजा गरिन्छ। पूर्वी तराईमा बस्ने आदिवासीहरुले संस्कृतिक कार्यक्रमको समेत आयोजना गर्छन्।
प्रदेश २ सरकारले आज जुडशितल पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।