काठमाडौं– प्रतिभाशाली मिडफिल्डर जगजित श्रेष्ठ २० महिनापछि नेपाली राष्ट्रिय फुटबल टिममा फर्किएका छन्। जगजित पछिल्लो पटक ०७२ फागुनमा भारतमा आयोजना भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)को यू–२३ टिममा थिए।
सागपछि अस्ट्रेलिया गएका जगजित मंगलबार हुने फिलिपिन्स विरुद्धको खेलका लागि घोषणा गरिएको राष्ट्रिय टिममा समावेश भएका हुन्। अस्ट्रेलिया गएपछि उनी राष्ट्रिय टिमको पहिलो चरणको टिममा समेत परेका थिएनन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) फिलिपिन्स विरुद्धको पहिलो चरणको टिम अभ्यासका लागि जगजितलाई अस्ट्रेलियाबाट बोलाएको थियो। अभ्यासका क्रममा प्रशिक्षक कोजीलाई प्रभावित पार्दै जगजितले २० महिनापछि राष्ट्रिय टिममा स्थान बनाएका हुन्।
राष्ट्रिय टिममा पुनरागमनपछि संक्षिप्त प्रतिक्रिया दिँदै जगजितले खुसी लागेको बताए। 'राष्ट्रिय टिमबाट खेल्ने सबैको चाहना हुन्छ। फेरि टिममा खुसी लागेको छ', उनले भने।
२० महिनाअघि अस्ट्रेलिया गएका जगजितले त्यहाँ पनि व्यावसायिक फुटबल खेलेका थिए। उनले गत वर्ष अस्ट्रेलियाको ह्युम युनाइटेडसँग सम्झौता गरेका थिए। मेलवर्नको बी डिभिजन लिग खेलेका मिडफिल्डर जगजित मासिक १ हजार ५ सय डलर पाउनेगरी १ वर्ष ६ महिनाका लागि आबद्ध थिए।
भक्तपुरका बासिन्दा जगजित एन्फा एकेडेमीका उत्पादन हुन्। २४ वर्षीय जगजितले नेपालीको यू–१४, यू–१६ र यू–१९ टिम हुँदै राष्ट्रिय टिममा स्थान बनाएका थिए। उनले सन् २०११ मा उत्तर कोरिया विरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
जगजितले सन् २०११ र २०१३ को साफ च्याम्पियनसिपमा नेपाली टिमको मध्यपंक्ति सम्हालेका थिए। सन् २०१२ को नेहरु कप (भारत) पनि खेलेका उनले फिफा विश्वकप २०१४ अन्तर्गत छनोट चरणको खेलमा पूर्वी टिमोर विरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।
हालसम्म ३३ अन्तर्राष्ट्रिय खेलमा नेपालको जर्सी लगाइसकेका जगजितले पछिल्ला २ महत्वपूर्ण प्रतियोगिता भने खेल्न पाएनन्। गत वर्ष मलेसियामा भएको एएफसी सोलिडारिटी कप र एएफसी एसियन कप छनोटको सुरुवाती चार खेलमा जगजित मैदान बाहिरै रहे।
अस्ट्रेलिया जानुअघि जगजितले थ्री स्टारबाट व्यावसायिक फुटबल खेलेका थिए। त्यसअघि उनले फ्रेन्ड्स, मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाबाट खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।