काठमाडाैं- विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ।
विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गासमेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको हो। प्रधानमन्त्री निवासको जग्गा नै गम्भीर अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रदर्शन गर्नुपरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए।
उनले विरोध प्रदर्शनको माध्यामबाट भ्रष्टाचारी र विचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दबाव दिइएको बताए।
प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका छाेराकाे नाममा किनिएको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रदर्शन सुरु गरेको हो।
प्रवक्ता आचार्यले प्रधानमन्त्री निवासको जग्गानै अपचलन गर्ने गम्भीर प्रकृतिको घटना बाहिर आएको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारलाई खबरदारी गर्न पनि सबै नागरिक समाज, पार्टी र सञ्चारकर्मीहरुलाई आह्वान गरे। प्रदर्शनको क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान्, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानबिन गर’, ‘ठूलो माछा कता छ? सिंहदरबार जता छ’। लेखिएका प्ले-कार्डहरु पनि प्रदर्शन गरिएका थिए।
सो घटना बाहिर आएपछि सरकारले पनि एक हप्ताअघि प्रधानमन्त्री निवासको जग्गा बिक्री गर्न रोक लगाउने निर्णय गरेको थियो। विवेकशील साझा पार्टीले सरकारको सो निर्णयको स्वागत गर्दै घटनाको छानबीन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारकाे ध्यानाकर्षण गराएकाे छ।
तस्बिरमा हेराैं विवेकशील साझाकाे प्रदर्शन:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।