काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कुल काठमाडौंलाई 'वर्ल्ड बुक अफ रेकर्डस्' प्रदान गरेका छन्।
साेमबार बिहान बालुवटारमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डस् लन्डनले जारी गरेको प्रमाणपत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई प्रदान गरेका हुन्।
प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई गुन लगाएको बताए। 'राज्यले लिनुपर्ने दायित्व तपाईंहरुले लिनु भएको छ। यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु', प्रधानमन्त्री ओलीले भने, 'अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन।'
प्रधानमन्त्री ओलीले समता स्कुलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको जिकिर गरे। 'सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ', प्रधानमन्त्री ओलीले भने, 'यसका लागि तपाईंहरुलाई बधाई छ।'
प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नुहने स्पष्ट पारे। नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको उनकाे भनाइ थियाे।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालको पनि उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।