एथेन्स– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि क्रोएसिया र स्विट्जरल्यान्ड छनोट भएका छन्। युरोपको प्ले अफमा क्रोएसियाले ग्रिस तथा स्विटजरल्यान्डले उत्तरी आयरल्यान्डलाई हराएर रसियाको टिकट पक्का गरेको हो।
आइतबार भएको प्ले अफको दोस्रो लेगका दुवै खेल गोलरहित बराबरीमा सकिएका थिए। पहिलो लेगमा क्रोएसियाले ४–१ ले ग्रिसलाई हराएको थियो। स्विट्जरल्यान्डले उत्तरी आयरल्यान्डलाई १–० ले पराजित गरेको थियो।

युरोपबाट अब थप दुई टिमको टुंगो प्ले अफबाट लाग्नेछ। प्ले अफमा इटाली र स्विडेन तथा डेनमार्क र आयरल्यान्ड गणतन्त्रबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो लेगमा स्विडेनले इटालीलाई १–० ले हराएको थियो। डेनमार्क र आयरल्यान्ड गणतन्त्रले भने गोलरहित बराबरी खेलेका थिए।
अन्तरमहादेशीय प्ले अफमा अस्ट्रेलिया र होन्डुरसबीच दोस्रो लेगमा शुक्रबार प्रतिस्पर्धा हुँदैछ। पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो। अर्को प्ले अफमा पेरु र न्युजिल्यान्डबीच प्रतिस्पर्धा शुक्रबार नै प्रतिस्पर्धा हुनेछ। पहिलो लेगमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए।
क्रोएसिया र स्विट्जरल्यान्ड छानिएसँग अहिलेसम्म विश्वकप खेल्ने २८ टिमको टुंगो लागेको छ। बाँकी चार टिम प्ले अफबाट टुंगो लाग्न बाँकी छ।
विश्वकपमा छनोट भएका टिम यस्ता छन् ।
अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट
एसिया – इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया
युरोप – रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया र स्विटजरल्यान्ड
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन – मेक्सिको, कोस्टारिका र पानामा
दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।