काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारी गर्दै पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातिहरुले मनाउने सिरुवा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने त्यस समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्।
शुभकामना सन्देशमा प्रधानमन्त्रीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताउँदै सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गरे।
'नेपाल बहुभाषिक, बहुजातीय, बहुसाँस्कृतिक देश हो। यस देशमा बसोबास गर्ने विविध जातिहरुले मनाउने विविध प्रकारका चाडपर्वहरुले आपसमा सद्भावको सन्देश प्रवाह गरेका छन्। अहिले मानिसहरु एक समुदायको चाड पर्वमा अर्को समुदायपनि सहभागी भएर आत्मियता र एकता दर्शाउने गरेका छन्', शुभकामना सन्देशमा भनिएको छ, 'त्यसकारण नेपालीहरुलाई विविधता भित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सुत्र यस्तै चाडपर्वहरु पनि हुन्। हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढंगले मनाउनु पर्दछ।'
नयाँ वर्षको रुपमा मनाइने सिरुवा पर्व ३ दिनसम्म मनाउने चलन छ। नयाँ वर्षको पहिलो दिन अर्थात् बैसाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर 'कादो सिरुवा' मनाउने गरिन्छ। तेस्रो दिन आपसमा रंग दलेर 'रङ सिरुवा' मनाउने गरिन्छ। यी ३ दिनमध्ये दोस्रो अर्थात 'कादो सिरुवा' लोकप्रिय मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।