भैरहवा– रुपन्देहीमा अत्याधुनिक प्रविधि सहितको कापी उद्योग खुलेको छ।
तिलोत्तमा नगरपालिका–१७ परसहवामा प्रदेश ५ मै पहिलो अत्याधुनिक प्रविधि सहितको कापी उद्योग खुलेको उद्योगले जनाएको छ।
नयाँ वर्ष २०७६ को अवसर पारेर आइतबार प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लीला गिरीले उद्योगको उद्घाटन गरे।
यहाँका २७ जना उद्योगी व्यवसायीहरूको लगानीमा उद्योग सञ्चालनमा आएको हो। भैरहवा कमर्सियल इन्भेष्टमेन्ट कम्पनी प्रालिद्वारा सञ्चालित अन्नपूर्ण मल्टी इजी इण्डष्ट्रीजको तेस्रो प्रोडक्टको रुपमा मसलन्द तथा कापी उद्योग स्थापना भएको हो।
इण्डष्ट्रिजले हालसम्म उद्योगमा २८ करोड लगानी गरेको जनाएको छ। उद्योग अन्तर्गत हाल कार्ड बोर्ड, गत्ता र कापी उत्पादन हुँदै आएको छ।
यसअघि कार्ड बोर्ड र गत्ता उत्पादन हुँदै आएकोमा तेस्रो प्रोडक्टको रुपमा कापी उत्पादन गर्न थालिएको भैरहवा कमर्सियल इन्भेष्टमेन्ट कम्पनी प्रालिका अध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी दिए।
उद्योगमा १ सय जनाले रोजगारी पाएका छन्। आगामी दिनमा उद्योगका युनिट बढ्दै जाने र लगानी पनि थपिँदै जाने भण्डारीको भनाइ छ।
दैनिक ४ टन कागजबाट ८ घण्टामा १० हजार कापी उत्पादन क्षमता रहेको उद्योगले कापीसहित डे बुक, लेजर र रजिष्टर समेत उत्पादन गर्ने भण्डारीले जानकारी दिए। बजारमा उत्पादनको माग बढे १६ घण्टामा २० हजार कापी उत्पादन गर्न सकिने उनले बताए।
‘नेपालमा भएका कापी उद्योगहरूमध्ये गुणस्तरीय उत्पादन दिन्छांै, भारतका विभिन्न स्थानमा पुगेर राम्रो कागजमार्फत कापी तथा मसलन्द उत्पादन गर्छौं, गुणस्तरमा सम्झौता गर्दैनौं, एक नम्बरको उत्पादन हुनेछ,’ उनले भने।
भारतबाट आउने कापीहरू विस्थापित गर्न पनि गुणस्तर कापी उत्पादन गर्नुपर्ने उनको भनाइ छ। प्रिन्टिङ प्रेस र फोटोकपी पेपरको उत्पादन पनि आगामी दिनहरूमा बढाउने उनले बताए। ‘निजीस्तरबाट कापी तथा मसलन्द सामग्री उत्पादन गरेर राष्ट्रलाई समेत सहयोग गरेका छौं।
उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले उत्पादनमा जोड दिएका छौं,’ भण्डारीले भने।
नेपालमै उद्योग स्थापना गरे विदेशबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने मसलन्द तथा कापी उद्योगका सञ्चालक सुरेन्द्र बस्यालले बताए।
अन्नपूर्ण मल्टी इजी इण्डष्ट्रिज प्रालिले कार्ड बोर्ड र गत्ता उत्पादन गरिरहेको मसलन्द तथा कापी उद्योगका सञ्चालक अर्जुन न्यौपानेले बताए। १० वर्षमा १० वटा उद्योग सञ्चालन गरी १ हजार जनालाई रोजगारी दिने र सेयर सदस्य थपेर १ सय करोड लगानी पुर्याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ।
साना उद्योगबाट सुरु गरेर आधुनिक तथा राम्रो प्रविधियुक्त ठूला उद्योगहरू सञ्चालन गर्नुपर्ने प्रदेश ५ सरकारका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लीला गिरी बताउँछन्।
विगतमा स्थापना गरिएका राष्ट्रिय गौरवका उद्योगहरू बन्द हुँदा अर्थतन्त्र ओरालो लागेकोले त्यसबाट पाठ सिक्दै नयाँ उद्योगहरूको स्थापना गरी मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने मन्त्री गिरीको भनाइ छ।
‘कच्चापदार्थ बाह्य मुलुकबाट ल्याउनेपर्ने बाध्यात्मक परिस्थिति छ, तैपनि उद्योगी व्यवसायीहरुहरूले उद्योग स्थापना गरेर राष्ट्रलाई गुन लगाउनु भएको छ, यो सकारात्मक कुरा हो,’ उनले भने।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मनहरी बस्यालले प्रदेश नम्बर ५ मा कागज उत्पादन गर्नुपर्र्ने आवश्यकता रहेको बताए। अहिले मसलन्द तथा कापी उद्योग सञ्चालनमा आउनु राम्रो काम भएको उनले बताए।
उद्योग स्थापनाको अवसरमा तिलोत्तमा–१५ स्थित नेपाल अविनास अनाथ आश्रमका ३५ जना विद्यार्थीहरुलाई कापी हस्तान्तरण गरिएको उद्योगका सञ्चालक रविन्द्र शर्मा घिमिरेले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।