काठमाडौं– नेपालका युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परे पनि टिममा छनोट हुन असफल भएका छन्। आइतबार भएको टिम छनोटमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो देखाएनन्।
पिएसएलले शुक्रबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीपसहित ५ सय १ खेलाडी समेटिएका थिए। ड्राफ्टमा सन्दीप सिल्भर क्याटागोरीमा परेका थिए। सो क्याटागोरीमा सन्दीपसहित २ सय ९८ खेलाडी समावेश थिए। जसमध्ये प्रत्येक टिमले २ खेलाडी मात्र छान्न पाउने प्रावधान अनुसार ६ टिमले सिल्भर क्याटागोरीमा १२ खेलाडी छानेका छन्।
आगामी फेब्रुअरीमा हुने पिएसएलमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा इस्लामावाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वारान्डर्स, मुल्तान सुल्तान, पेसावर जल्मी र क्युता ग्लाडिएटर छन्। प्रत्येक टिममा १६ जना खेलाडी छानिए। टिमलाई ४ जना इमर्जिङ खेलाडी राख्न पाउने पनि सुविधा थियो।
सन्दीप यसअघि पनि बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि टिममा छनोट हुन असफल भएका थिए। सन्दीप हाल यु–१९ एसिया कप खेल्न मलेसियामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।