काठमाडौं– मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा भारतमाथि १९ रनको ऐतिहासिक जित निकालेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ।
मंगलबार हुने अन्तिम खेलमा मलेसियालाई पराजित गरेमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना हुन्छ। दुई महिनाअघि नेपालले मलेसियाको युवा टिमलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। एसिसी पूर्वी क्षेत्रीय प्रतियोगिताको समेमिफाइनलमा मलेसियाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा विनाविकेटको क्षतिमा पार गरेको थियो ।

नेपाल सेमिफाइनल पुगेमा भारत वा बंगलादेशमध्ये एक टिम समूह चरणबाटै बाहिरनेछ। समूह 'ए' मा भारत, नेपाल र बंगलादेशले समान २–२ अंक जोडेका छन्। नेपाल र भारतले खेलेका २ मध्ये १ खेलमा जित र १ खेलमा हार बेहोरेका छन्। बंगलादेशले भने १ खेल मात्र खेलेको छ। बंगलादेशले पहिलो खेलमा नेपाललाई २ विकेटले हराएको थियो।
बंगलादेशले सोमबार मलेसियालाई पराजित गरे मंगलबार हुने समूह चरणका खेलहरु रोमाञ्चक तथा निर्णायक हुनेछन्। मंगलबार नेपाल र मलेसिया तथा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। नेपाल र बंगलादेश विजयी भए दुवै टिम सेमिफाइनलमा पुग्नेछन् भने भारत बाहिरनेछ। भारत विजयी भएमा तीन टिमको समान ४–४ अंक हुनेछ। राम्रो रनरेट हुनेमध्ये २ टिम सेमिफाइनल पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।