काठमाडौं– एसिसी यू–१९ एसिया कपमा नेपालले भारतलाई १ सय ८६ रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो।
नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रन जोडे। उनले १०१ बलको सामना गर्दै ६ चौका र २ छक्का हिर्काए।
ओपनर जितेन्द्र सिंहले ३६ रनको योगदान गरे। उनले ९५ बलमा ३ चौका प्रहार गरे। अर्का ओपनर आसिफ शेखले ३ रन मात्र जोड्न सके।
अनिलकुमार साह ६ रनमा आउट हुँदा रोहितकुमार पौडेल पनि ६ रनमै पेभेलियन फर्किए। भीम सार्कीले १५ रनको योगदान गरे। उनले २२ बलमा २ चौका र १ छक्का हिर्काए। पवन सर्राफ १ रनमै पेभेलियन फर्के। कमलसिंह ऐरी १७ बलमा ५ रन जोडेर आउट भए।
सन्दीप लामिछानेले नटअाउट ९ र किशोर महतोले नटआउट ७ रन जोडे।
बलिङतर्फ भारतका आदित्य ठाक्रे र अभिषेक शर्माले २–२ विकेट लिएका छन्। मन्दिप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अर्थव टइडेले १–१ विकेट हात पारे।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपाललाई बंगालदेशले २ विकेटको झिनो अन्तरले हराएको थियो। एसिया कपअन्तर्गत भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।