जुरिच– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि अहिलेसम्म २६ टिमको टुंगो लागेको छ। बाँकी ६ टिम आगामी शुक्रबारसम्ममा छनोट हुनेछन्।
विश्वकपमा पाँच महादेशबाट सिधै छनोट हुने टिमको टुंगो लागेको छ भने अब बाँकी ६ टिम प्ले अफबाट छानिनेछन्। ६ वटा प्ले अफ शुक्रबार सकिनेछ।
प्ले अफमा युरोपबाट इटाली र स्विडेन, ग्रिस र क्रोएसिया, स्विट्जरल्यान्ड र उत्तरी आयरल्यान्ड तथा डेनमार्क र आयरल्यान्ड गणतन्त्रबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो लेगमा स्विडेनले इटालीलाई १–० ले हराएको थियो। क्रोएसियाले ग्रिसलाई ४–१ ले हराउँदा स्विटजरल्यान्डले उत्तरी आयरल्यान्डलाई १–० ले पराजित गरेको थियो। डेनमार्क र आयरल्यान्ड गणतन्त्रले भने गोलरहित बराबरी खेलेका थिए।
युरोप प्ले अफको अन्तिम खेलमा बिहीबार डेनमार्क र आयरल्यान्ड गणतन्त्रबीच प्रतिस्पर्धा हुनेछ। खेलपछि युरोपबाट छनोट हुने थप चार टिमको टुंगो लाग्नेछ।
अन्तरमहादेशीय प्ले अफमा अस्ट्रेलिया र होन्डुरसबीच दोस्रो लेगमा शुक्रबार प्रतिस्पर्धा हुँदैछ। पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो। अर्को प्ले अफमा पेरु र न्युजिल्यान्डबीच प्रतिस्पर्धा शुक्रबार नै प्रतिस्पर्धा हुनेछ। पहिलो लेगमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए।
शनिबार राति मोरक्को र ट्युनिसियाले अफ्रिकाबाट विश्वकपमा टिकट पक्का गरेपछि २६ टिमको टुंगो लागेको हो। विश्वकपमा छनोट भएका टिम यस्ता छन् ।
अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया, सेनेगल र इजिप्ट
एसिया – इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया
युरोप – रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया र आइसल्यान्ड
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन – मेक्सिको, कोस्टारिका र पानामा
दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।