काठमाडौं- आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपालले युएईलाई २ सय ४८ रनको लक्ष्य दिएको छ।
मलेसियाको राजधानी क्वालालम्पुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २ सय ४७ रनमा अलआउट भयो।
नेपालका लागि हरि चौहानले नटआउट ६७ रनको योगदान दिए। अन्तिमसम्म टिकेका उनले ७४ बलमा ७ चौका हिर्काए। भीम सार्कीले पनि अर्धशतक प्रहार गरे। उनले ५४ बलमा ४ चौका र २ छक्का हिर्काए।
त्यसअघि ओपनर रित गौतमले ४४ रन जोडे। उनले ७३ बलमा ३ चौका हिर्काए। अर्का ओपनर पवन सर्राफ १२ रनमा आउट हुँदा आसिफ शेखले २७ रन बटुले। कप्तान रोहितकुमार पौडेल १८ रन र सन्दीप जोरा ४ रनमा आउट भए। कुशल मल्ल (१ रन), रासिद खान (१ रन), कमलसिंह ऐरी (२ रन) र सागर ढकाल (२ रन) सस्तैमा आउट भए।
बलिङमा युएईका रिशव मुखर्जीले ४ विकेट लिए भने मुहमद फाराजुद्दिनले ३ विकेट हात पारे।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ को फराकिलो अन्तरले पराजित भगरेको थियो।
प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। ६ टिममध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई छन्।
नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो। गत वर्ष न्युजिल्यान्डमा भएकाे विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो।
आगामी फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। अफ्रिकाबाट नाइजेरियाले छनोट पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेको छ। अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।