मकवानपुर– मकवानपुरमा ६४ किलो गाँजा र कारोबारमा प्रयोग भएको गाडीसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
बिआर ०४ बि ००४१ नम्वरको सुमोसहित भारतको बिहार मोबासिरुलहसन सब्जिबाघ पटनाका २८ वर्षीय समिर अहमदलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको छ।
हेटौडा उपमहानगरपालिका १५, रातोमाटेस्थित सडक खण्डवाट समिरलाई पक्राउ गरिएको हो।
हेटौंडाबाट पथलैया जाँदै गरेको सुमो चेकजाँच गर्दा गाँजा बरामद भएको एसपी मुकेशकुमार सिंहले बताए। ३० वटा चारपाटे पोका बनाएर राखिएको गाडीमा बरामद भएको उनले जानकारी दिए।
‘प्रहरीलाई झुक्याउन धेरै प्रयास गरेको देखिन्छ,’ उनले भने, ‘गाडीको छतमुनिको भागमा चारपाटे फलामको पातामा नटले कसेर गाँजा लुकाइएको थियो।’
समिरलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा चलाउने प्रहरीले जनाएको छ। ऐन अनुसार २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना तथा सवारी साधन समेत जफत हुने ब्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।