काठमाडौं– गत चैत्र २४ गते मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएका सर्लाहीका जगरनाथ सिहं दनुवार र बर्दियाका रामु चौधरीको शव आज नेपाल पठाइएको छ।
मृतक दनुवार र चौधरी मलेसियाको मुतियारा कायामास कम्पनीमा कार्यरत थिए। दुर्घटना छानबिन गरी शुक्रबार मृतकहरूको शव नेपाल पठाइएको दाङ घर भई हाल मलेसियास्थित सोही कम्पनीमा कार्यरत रमेश पन्थीले नेपाल लाइभलाई जानकारी दिए।
मृतकहरुको शवसँगै मलेसिया स्थित कम्पनीका प्रतिनिधि समेत आएको पन्थीले बताए। शव मलेसियाबाट दिउँसो ३ बजे नेपाल पठाइएको थियो। पन्थीका अनुसार अहिले कम्पनीले हाल मृतकका परिवारलाई सहयोग स्वरुप प्रतिपरिवार ६ हजार रिगिट पठाएको छ।
दुर्घटनामा परी घाइते हुने १२ नेपालीहरूमा लोकेश ओली, कृष्णबहादुर कवार, महेशकुमार बुढाथोकी, सुमन गाम्छा मगर, केशव थापा, सन्तोषकुमार यादव, लोकेन्द्रबहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी, विश्वकर्मा मण्डल, पद्मबहादुर कुँवर र सन्तोषकुमार शाह रहेका थिए।
गम्भीर गाइते भएकाहरूको उपचार भइरहेको र समान्य घाइते भएका श्रमिकहरू उपचारपछि काममा फर्किएको जनाइएको छ।
घाइतेहरुको घरको ठेगाना भने खुलेको छैन। उनीहरू चढेको बस ४४ जना कामदार बोकेर मलेसियाको क्वालालाम्पुर विमानस्थल नजिक गइरहेको अबस्थामा दुर्घटना भएको थियो।
बस विमानस्थल नजिकै सेपाअङमा १० मिटर तल नालीमा खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।