काठमाडौं– बहुप्रतिक्षित मुलपानी क्रिकेट मैदान (माथिल्लो) को औपचारिक उद्घाटन गरिएको छ।
सदस्यसचिव ११ र भेट्रान्स ११ टिमबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै मैदानको शनिबार उद्घाटन गरिएको हो। दुवै टिममा सिनियर टिमका खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी समावेश थिए। खेलाडीले 'मुलपानी : नेपाली क्रिकेटको भविष्य' लेखिएको जर्सी लगाएर मैदान उत्रिएका थिए।
मैत्रीपूर्ण खेलपछि नेपाली टिमका कप्तान पारस खड्काले त्रिवी मैदानको विकल्पमा मुलपानी मैदान बनेको प्रतिक्रिया दिए । उनले मुलपानी मैदानमा क्रिकेट खेल्ने सपना पूरा भएको भन्दै मुलापनीलाई क्रिकेट हवको रुपमा विकास गर्न सरोकारवाला निकायलाई आग्रह गरे।
सन् २००७ मा निर्माण सुरु भएको मैदान १० वर्षपछि खेल्न योग्य बनेको हो। खेलाडी तथा नेपाल क्रिकेट संघ (क्यान) का कर्मचारीको पहलमा मैदान बनाइएको हो। खेलाडी तथा कर्मचारीको पहलमा गत चैतदेखि मैदान निर्माण कार्य थालिएको थियो।
मैदानमा सातवटा पिचको बेस भए पनि अहिले चारवटा मात्र पिच बनाइएको छ। सन् २००७ देखि नेपाल क्रिकेट संघ (क्यान) ले मैदान निर्माण थालेपनि क्यानको आन्तरिक विवादले निर्माण कार्यमा ढिलाइ भएको थियो। क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निलम्बनमा परेपछि निर्माण ठप्प थियो।
मुलपानी मैदान निर्माण कार्यमा अहिलेसम्म ७ करोड लगानी भएको छ। मैदानमा ४ करोड खर्चेर पेभिलियन निर्माण गरिएको थियो। ०६६ मा पाकिस्तानी क्युरेटरले मैदानको मध्यभागमा पिच बनाएका थिए। ०६९ मा ६५ लाख लगानीमा पर्खाल बनाएपछि मैदान निर्माणकार्य रोकिएको थियो।
मुलपानीमै सरकारले निर्माण गरिएको तल्लो मैदान सुस्त गतिमा अघि बढेको छ। तल्लो मैदानमा प्याराफिट र पेभेलियन बनाइसकिएको छ। पीच र मैदानको लेकलिङ गर्ने काम बाँकी छ। मैदानको जग्गाको मुआब्जाको विवाद जारी रहेकाले मैदान निर्माणमा ढिलाइ भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।