काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवलाई स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।
सरकारी सवारीसाधनको दुरूपयोग गरी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजित नेपाली कांग्रेसको चुनावीसभामा प्रमुख अतिथिका रूपमा सहभागी भएको भन्दै आयोगले मन्त्री देवसँग स्पष्टीकरण सोधेको हो।
आचारसंहिता उल्लंघन गरेबापत किन कारबाही नहुनुपर्ने हो भनी मन्त्री देवसँग २४ घन्टे स्पष्टीकरण मागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
यस्तै, आयोगले कांग्रेस सप्तरीका सभापति एवं कांग्रेसका तर्फबाट सप्तरी जिल्ला क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेशकुमार यादवसँग पनि स्पष्टीकरण मागेको छ। यादवले सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरेको आयोगले जनाएको छ।
उता सप्तरीको खुरहुरियास्थित जनता माविका प्रअ सूर्यनारायण यादवलाई पनि सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरिनु निर्वाचन आचारसंहिताविपरीत देखिएको जनाई आयोगले २४ घन्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।