सुर्खेत- प्रहरीले पश्चिम सुर्खेतबाट बम बनाउन प्रयोग गरिने विष्फोटक सामग्री ठूलो परिमाणमा बरामद गरेको छ।
पञ्चपुरी नगरपालिका–११ ढुंगेबजारबाट बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तार लगायत सामग्री बरामद गरिएको हो। ती सामग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोबाइल सेट पनि बरामद भएको प्रहरीले जनाएको छ।
निर्वाचनमा प्रभाव पार्न निर्वाचन विरोधी समूहले विस्फोटक सामग्री भारतबाट भित्र्याएको प्रहरीले जनाएको छ।
'विशेष सुराकीको आधारमा ध १ ज १०६ नम्बरको जिप जाँच गर्दा ६० थान डेटोनेटर, ५५५ थान जिलेटिन, २२ मिटर फ्यूजवायरका साथै भारतीय र नेपाली सीमसहितको मोबाइल बरामद गर्न सफल भएका हौं', सुर्खेत प्रहरीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले बताए।
विस्फोटक सामग्री ल्याउने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।