काठमाडौं– नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटीले शनिबार आफ्नो संघका उपाध्यक्ष तथा पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी भुवनदेव पन्त (बबि पन्त)को सम्मानमा श्रद्धाञ्जली सभा गरेको छ।
संघले पूर्व तथा हालका खेलाडीहरुको उपस्थितिमा लैनचौरस्थित टेबल टेनिस संघको कर्भड हलमा बबि पन्तको सम्झना गरेको हो। युवा तथा खेलकुदमन्त्री राजन केसीको समेत उपस्थिति रहेको समारोहमा टेबल टेनिस, फुटबल, क्रिकेट र एटलेटिक्स खेलका पूर्व तथा वर्तमान खेलाडीले उनको फोटोमा फूलमाला लगाएर श्रद्धासुमन प्रकट गरे।
पन्तको गत असोज ४ गते लिभर क्यान्सरका कारण ७३ वर्षको उमेरमा सिंगापुरमा निधन भएको थियो।
उनी ६० र ७० को दशकमा टेबल टेनिस र एथलेटिक्सका कारण चर्चामा थिए। उनले सन् १९६६ मा थाइल्यान्डको बैंककमा भएको पाँचौं एसियन गेम्समा नेपालबाट प्रतिनिधित्व गरेका थिए।
नेपालका पहिलो फुटबल कप्तान अच्युतकृष्ण खरेलले उनको खेलको चर्चा गरे। ‘हाम्रो पुरानो खेलाडीको सम्मान गर्ने परिपाटी छैन। यसै कारण समग्र खेल क्षेत्रको सम्मान हुन सकेको छैन’, उनले नेपाल लाइभसँग भने।
खरेलसँगै उनी ह्यामर थ्रो र सटपुट खेलमा पनि सहभागी भएका थिए। संघका अध्यक्ष जिएन दाइ शर्माले बबि पन्त आफ्नो जमानाको राम्रो खेलाडी भएकाले भेट्रान्सहरुले उनको सम्मानमा स्मृति सभाको आयोजना गरेको बताए।
‘नेपाली खेलकुदमा उनको योगदान ठूलो छ। राज्यले भेट्रानहरुको कदर गर्न जान्नुपर्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।