काठमाडौं– एकानब्बे वर्षको उमेरमा आज देहावसान भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट निष्ठावान राजनीतिज्ञ थिए।
ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएका विष्ट विगत केही समयदेखि अस्वथ्य थिए। पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उनको १५ जनवरी १९२७ मा जन्म भएको थियो।
उनले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए।
राजनीतिसम्बन्धी लेखहरू लेख्दै राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँगको सङ्गतबाट राजनीतिमा सरिक भएका विष्टले नेपाली राष्ट्रिय कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका थिए। उनी जहानियाँ राणा शासनविरुद्धको विस २००७ को क्रान्तिमा सक्रियतापूर्वक लागेका थिए।
सन् १९५८ मा परामर्शदात्री सभाको सदस्य भएका विष्ट सन् १९६१ मा सहायक मन्त्री, मन्त्री, मन्त्रिपरिषद्का उपाध्यक्ष, उपप्रधानमन्त्री र प्रधानमन्त्री समेत भएका थिए। विस २०६१ मा माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सञ्चालन गरेपछि उनलाई विस २०६१ फागुनमा उपाध्यक्षमा नियुक्त गरिएको थियो।
विस २०३० मा सिंहदरबार आगलागी हुँदा नैतिकताको कारण राजिनामा दिएका थिए। विष्टले नै चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको सुरुवात गरेका थिए।
विस २००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद्को उपसभापति र सभापति पनि रहेका विष्ट सोही पार्टीबाट विस २०१५ फागुनमा भएको काठमाडौं–३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका थिए।
उनले तत्कालीन वाग्मती पुनरुत्थान कोष, वीरेन्द्र गद्दी आरोहण नागरिक मूल समारोह समिति, त्रिभुवन स्मारक समिति र राष्ट्रिय सम्मान समितिका अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए।
सन् १९९६ मा प्रतिनिधिसभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत उनी पक्राउ परेका थिए। उनले चीन, भारत, पाकिस्तान, रुस, उत्तर कोरिया, अष्ट्रिया, जापान, मलेसिया, जर्मनी, फ्रान्स, नेदरल्याण्डस्, संयुक्त राज्य अमेरिका, इण्डोनेसिया र ब्राजिलको भ्रमण गर्नुका साथै राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पनि गरेका थिए। उनको राजनीतिक दर्शनको अध्ययन र पत्रकारितामा रुचि थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।