राजविराज– विदेश जाने चक्करमा होस नपुर्याउँदा सप्तरीका दुई जना एजेन्टमार्फत ठगिएका छन्। बेल्ही चपेना गाउँपालिका-६ फकिराका ४५ वर्षिय मोहम्मद फूलमान सेख र हनुमाननगर कंकालिनी नगरपालिका-१२ योगिनीयाँका ४० वर्षिय मजेबुल खान आफ्नै जिल्लावा मार्फत ठगिएका हुन्।
आफूलाई वैदेशिक रोजगारीको एजेन्ट बताउने छिन्नमस्ता गाउँपालिका-६ लालापट्टीका युसुफ मियाँ र विष्णुपुर गाउँपालिका बिसनपुरका अफताव आलमले आफूहरुलाई ठगी गरेको पीडितले बताए। ‘तीन लाख रुपैयाँभन्दा बढी पैसा लिई महिनौं दिनसम्म काठमाडौंका होटलमा राखेर आफैं बेपत्ता भए,’ उनीहरु भन्छन्, ‘होटल मालिकले धक्का दिएर निकालेपछि हामीले बल्ल ठगिएको थाहा पायौं।’
चाँडै पैसा कमाउने लालसा
३/४ महिनादेखि काठमाडौंको पुतलीसडकमा सिलाकटाइको काम गर्दै आएका फूलमानले विदेश जाने भन्दै काम छोडे। ६५ वर्षीया आमा करेसा खातुन, पत्नी जवरुन खातुन र ३ छोरासहित ६ जनाको परिवारको जिम्मेवारी उनको काँधमा छ।
भएको ७ कठ्ठा घडेरी पनि साहुकहाँ राखेर युसुफलाई पैसा दिए। 'जग्गा राखेर सयकडा ५ रुपैयाँ ब्याजमा गाउँकै रामप्रसाद यादवसँग ऋण लिई युसुफलाई दिएको थिएँ,' उनले भने। १ लाख ५० हजार ऋणमा १० हजार थप गरी कुल १ लाख ६० हजार रुपैयाँ बुझाएको उनको भनाइ छ।

‘भएको काम पनि छुट्यो, जायजेथा पनि सकियो,’ उनले रुँदै भने, ‘अब म परिवार कहाँ लगेर राख्नु र कसरी पाल्नु?’
चाँडै पैसा कमाउने लालसा र जिल्लावासीको भरोसामा पर्दा आफ्नो परिवार बिचल्लीमा परेको उनले लाचारी सुनाए। ‘पैसा लिएपछि मलाई होटलमै छोडेर निस्किएको युसुफ फेरि फर्केर आएन,’ उनले थपे, ‘आजभोलि भन्दाभन्दै एक महिना बितेपछि फोनमा पनि सम्मर्क हुन छोड्यो।’
एजेन्ट नै सम्पर्कमा नभएपछि चैत १९ गते आफू काठमाडौंबाट घर फर्केको फूलमान बताउँछन्। ‘होटलको खर्च उनले नै बेहोर्ने सर्त थियो, तर त्यो पनि आफैले बुझाउनुपर्यो,’ डेढ महिना होटलमा बसेको १८ हजारको बिल देखाउँदै उनले भने, ‘यस्ता पापीलाई त फाँसीको सजाय पनि कमै हुन्छ।’
छोरीको विवाह गर्दा लागेको ऋण चुक्ता गर्ने चक्करमा फसे मजेबुल
फूलमान विदेश जाने पत्ता लागेपछि मजेबुलले पनि विदेशको सपना देख्न थाले। छोरीको विवाह लागेको १२ लाख ऋणले उनमा बेचैनी थियो। त्यही बेचैनी पार गर्न उनले अफतावलाई पासपोर्ट बुझाए।

पीडितहरुका अनुसार युसुफ र मजेबुल सहकर्मी हुन्।
कुबेतको राम्रो कम्पनीमा पठाइदिने भनेपछि अफतावले मागे अनुसार २ पटक गरी कुल २ लाख रुपैयाँ बुझाएको मजेबुल बताउँछन्। ‘महिनाकै १ लाख कमाइ हुन्छ भनेपछि मागे अनुसार पैसा दिएँ,’ उनले भने, ‘भरोसामा पर्दा थप समस्या भोग्नुपर्यो।’
४ छोरी, २ छोरा र पत्नीसहित ८ जनाको परिवार रहेको मजेबुलको अवस्था फूलमानको भन्दा धेरै फरक छैन।
आप्रवासन स्रोत केन्द्रमा एजेन्टविरुद्ध उजुरी
दुवैले जिल्ला प्रशासन कार्यालय सप्तरीको हाताभित्र रहेको आप्रवासन स्रोत केन्द्रमा युसुफ र अफतावविरुद्ध उजुरी दर्ता गराएका छन्। उजुरीमा दोषीलाई कारबाही र आफनो पैसा असुल उपरका लागि माग गरिएको छ।

केन्द्रकी परामर्शदाता नीता चौधरीले दुवैले पैसा बुझाएका एजेन्टलाई बोलाएर छलफल गर्ने प्रयास भइरहेको बताइन्। केन्द्रमार्फत समस्या समाधान नभए जिल्ला प्रहरी कार्यालयमार्फत पहल गरेर न्याय दिलाउन प्रयास गरिने उनको भनाइ छ।
यो पनि : वैदेशिक रोजगारमा ठगी : चिनजानकै मान्छेले फसाउँछन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।