काठमाडौं- सडक दुर्घटना न्यूनीकरणका लागि चेतनालाई आचरणमा बदल्नुपर्ने महानगरीय प्रहरी कार्यालयल रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शैलेश थापा क्षेत्रीले बताएका छन्।
सडक दुर्घटना न्यूनीकरणका लागि सप्ताहव्यापी ट्राफिक सचेतना अभियानको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। डिआइजी थापाले उपत्यकाको बढ्दो जनघनत्वसँगै ट्राफिक दुर्घटना बढिरहेकाले समुदायलाई सचेत बनाए मात्र त्यसलाई न्यूनीकरण गर्न सकिने बताए।
मानिसहरूले चेतनालाई आचरणमा बदल्न नसक्दा दुर्घटना बढेको बताउँदै उनले प्रत्येक चोक र सडकमा ट्राफिक प्रहरीको उपस्थिति भए मात्र दुर्घटना कम हुने नसोच्न पनि आग्रह गरे। प्रत्येक नागरिकले आफ्नो सोच बदली ट्राफिक नियम पालना गरे मात्र सुरक्षित यात्रा गर्न सकिने डिआइजी थापाको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले महाराजगन्ज क्षेत्रमा सञ्चाचालित ट्राफिक सचेतना कार्यक्रमले आफ्नो क्षेत्रमा दुर्घटना कम हुने विश्वास व्यक्त गरे। 'ट्राफिक नियम कुनै नयाँ कुरा होइन। सबैलाई जानकारी भएको भए पनि त्यसलाई व्यवहारमा लागू नगर्दा दुर्घटना बढेको हो,' उनले भने, 'त्यसलाई कम गर्न आफ्नो व्यवहारमा सबैले लागू गर्नुपर्छ।'
यसैगरी कर्यक्रममा महानगरीय ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले अब केही दिनभित्रै सबै निकायसँग समन्वय गरेर उपत्यकाका आवश्यक ठाउँमा आकाशे पुल निर्माण गर्ने, सवारी पार्किङको व्यवस्था, सवारीमा यात्रु चढाउने र ओराल्ने ठाउँहरूको व्यवस्था गर्न लागिएको जानकारी दिए।
सप्ताहव्यापी सञ्चालित कार्यक्रममा यात्रु तथा चालक, परिचालकहरूलाई ट्राफिक शिक्षा, विभिन्न सचेतनामूलक लगायतका कार्यक्रम गरिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।