काठमाडौं- आइसिसी यु-१९ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय ८३ रनको लक्ष्य दिएको छ।
मलेसियामा जारी खेलमा टस जितेको सिंगापुरले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा २ सय ८२ बलमा अलआउट भयो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको योगदान दिए। शतक बनाउन ५ रनले चुकेका उनले १ सय ५ बलमा ७ चौका र १ छक्का हिर्काए। त्यसअघि पवन सर्राफले ४७ रनको योगदान दिँदा रासिद खानले ४८ रन बटुले। भीम सार्कीले २६ र कमलसिंह ऐरीले ३१ रनको योगदान दिए।
४५ ओभरसम्म राम्रो स्थितिमा रहेको नेपालले ४६ ओभरमा ३ विकेट गुमाएको थियो। यो ओभरमा कप्तान पौडेल पहिलो बलमा आउट हुँदा कमलसिंह ऐरी पाँचौ र सूर्य तामाङ छैटौं बलमा आउट भएका थिए।
सिंगापुरका लागि एकै ओभरमा ३ विकेट लिएका अर्थव गुनेले ४ विकेट लिए भने विनित मेहता र राउल शर्माले २-२ विकेट लिए।
प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। ६ टिममध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई छन्।
नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो। गत वर्ष न्युजिल्यान्डमा भएकाे विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो।
आगामी फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। अफ्रिकाबाट नाइजेरियाले छनोट पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेको छ। अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन्।
नेपालको खेल
चैत २९ – नेपाल भर्सेस सिंगापुर
चैत ३० – नेपाल भर्सेस युएई
वैशाख २ – नेपाल भर्सेस मलेसिया
वैशाख ३– नेपाल भर्सेस ओमान
वैशाख ५– नेपाल भर्सेस कुवेत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।