काठमाडौं- आइपिएल क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपरकिंग्सले रोमाञ्चक जित हात पारेको छ। चेन्नईले बिहीबार राति भएको खेलमा राजस्थान रोयल्समाथि ४ विकेटको जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको राजस्थानले ७ विकेटको क्षतिमा १ सय ५१ रन जोड्यो। चेन्नईले अन्तिम बलमा ६ विकेटको क्षतिमा लक्ष्य पार गर्यो।
जितका लागि अन्तिम ओभरमा चेन्नईलाई १८ रन चाहिएको थियो। बलिङमा राजस्थानका बेन स्टोक्स थिए। ब्याटिङमा चेन्नईका रविन्द्र जडेजा र महेन्द्रसिंह धोनी थिए। पहिलो बलमा जडेजाले छक्का प्रहार गर्दा तेस्रो बल नो बल भएको थियो। तेस्रो बलमा धोनी आउट भएका थिए। तर स्टोक्सले थप १ वाइड र नो बल फाले। जितका लागि अन्तिम बलमा ३ रन चाहिएको स्थितिमा सान्टरनले छक्का प्रहार गरेका थिए।
चेन्नईका लागि धोनीले ५८ रन र आम्बाती रायदुले ५७ रन जोडे। बलिङमा राजस्थानका स्टोक्सले २ विकेट लिए।
त्यसअघि राजस्थानका लागि कुनै पनि ब्याट्सम्यानले ३० रन पनि जोड्न सकेनन्। स्टोक्सले सबैभन्दा बढी २८ रन जोडे।
लिगको शीर्ष स्थानमा रहेको चेन्नईको ७ खेलबाट १२ अंक छ। राजस्थानले ६ खेलबाट २ अंक मात्र जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।