लन्डन– अमेरिकाको महिला राष्ट्रिय टिमकी गोलकिपर होप सोलोले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का पूर्वअध्यक्ष सेप ब्लाटरले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।
महिला विश्वकप विजेता टिमकी ३६ वर्षीय गोलकिपर होपले सन् २०१३ को फिफा बलन डिअर अवार्डका दौरान ब्लाटरले दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्।
पोर्चुगलको पत्रिका एक्प्रेसोलाई अन्तरवार्ता दिने क्रममा अमेरिकाका लागि २ सय २ अन्तर्राष्ट्रिय खेल खेलेकी होपले भनेकी छिन्, 'ब्लाटरले मेरो पुट्ठा समातेर दुर्व्यवहार गरेका थिए।'
यता ८१ वर्षीय ब्लाटरका प्रवक्ताले भने आरोपको खण्डन गरेर हास्यास्पद अभिव्यक्ति भएको प्रतिक्रिया दिएका छन्।
होपले घटनाबारे बाहिर नबोल्न धम्की दिएको पनि बताएकी छिन्। उनले भनेकी छिन्, 'अवार्ड समारोह हुँदा निराश थिएँ। त्यसैले केही बोल्न सकिनँ।'
दुई पटक ओलम्पिकमा स्वर्ण जितिसकेकी होपले महिला खेलाडीलाई धेरै स्थानमा दुर्व्यवहार हुनेसमेत बताएका छिन्। उनले हलिउडमा हुने दुर्व्यवहारभन्दा खेल क्षेत्रमा हुने दुर्व्यवहार बढी भएको दाबी गरेकी छिन्। महिला खेलाडीले आफ्ना प्रशिक्षकसँग विवाह गरेको उदाहरण दिँदै उनले मैदान छिर्नेबित्तिकै दुर्व्यवहार सुरु हुने बताइन्।
फिफाको १७ वर्ष अध्यक्ष बनेका ब्लाटरलाई सन् २०१५ मा हटाइएको थियो। भ्रष्टाचारको अभियोगमा उनलाई ६ वर्षको प्रतिबन्ध लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।