स्टकहोम – फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ मा छनोट हुने इटालीको अभियान कठिन बन्दै गएको छ। युरोप छनोटको पहिलो चरणमा छनोट हुन असफल भएको पूर्व विजेता इटाली प्ले अफको पहिलो लेगमा पराजित भएको छ।
इटालीलाई शुक्रबार राति भएको प्ले अफको पहिलो लेगमा स्विडेनले १–० ले पराजित गरेको हो। स्विडेनको जितमा जोहानसनले ६१ मिनेटमा गोल गरेका थिए। सोमबार हुने दोस्रो प्ले अफमा कम्तिमा २–० को जित निकाले मात्र इटाली विश्वकपमा छनोट हुनेछ।
यसअघि युरोप प्ले अफको बिहीबार राति भएको खेलमा क्रोएसियाले ग्रिसलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो। स्विट्जरल्यान्डले उत्तरी आयरल्यान्डमाथि १–० गोलको जित निकालेका थिए।
फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि अहिलेसम्म २४ देशले स्थान पक्का गरिसकेका छन्। बाँकी ८ स्थानको टुंग्गो अबको एक महिनाभित्र लागिसक्नेछ।
विश्वकपमा युरोपबाट १० टिमले विश्वकपमा स्थान बनाइसकेका छन्। जसमा आयोजक रसियासहित स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया र आइसल्यान्ड छन्।
एसियाबाट छनोट भएका देशमा इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छन्।
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको, कोस्टारिका र पानामाले विश्वकपमा स्थान पक्का गरेका छन्।
दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया छनोट भएका छन्।
अफ्रिकाबाट नाइजेरिया, सेनेगल र इजिप्टले विश्वकपमा स्थान बनाएका छन्। अफ्रिकाबाट अब २ टिम छनोट हुन बाँकी छ। बाँकी ६ स्थानको टुंगो प्ले अफबाट लाग्नेछ। जसमा १२ टिम छनोट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।