काठमाडौं– शुक्रबारदेखि मलेसियामा आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता सुरु हुँदैछ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ। नेपाल र सिंगापुरबीच भएका पछिल्ला तीन खेलमा नेपालले जित हात पारेको छ। सन् २०१७ मा सिंगापुरमै भएको आइसिसी यु–१९ विश्वकप छनोटमा नेपाल र सिंगापुर दुई पटक भिडेका थिए। दुवै खेलमा नेपाल विजयी भएको थियो। पहिलो खेलमा नेपालले ४ विकेटको जित हात पारेको थियो। दोस्रो खेलमा नेपाल २२ रनले विजयी भएको थियो।
सन् २०१७ मै एसिसी यू–१९ पूर्व क्षेत्रीय प्रतियोगिता नेपालले सिंगापुरलाई ७ विकेटले हराएको थियो। २ वर्षअघि यु–१९ टिममा रहेका आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा र रोहितकुमार पौडेल अहिले पनि नेपाली टिममा छन्।
शुक्रबार सुरु हुने प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। ६ टिम मध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा नेपालसहित आयोजक आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएईले विजेता बन्दै विश्वकपमा छनोट हुन आफ्नो सम्पूर्ण शक्ति लगाउनेछन्।
नेपाली टिमको कप्तानमा रोहितकुमार पौडेल छन्। रोहितले पहिलो पटक नेपाली टिमको नेतृत्व गर्न लागेका हुन्। युवा टिममा उनीसहित चार खेलाडी राष्ट्रिय टिमका छन्। राष्ट्रिय टिममा रहेका रोहित, भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले युवा टिमबाट पनि खेल्न लागेका हुन्।
भारतको आन्द्र प्रदेशमा दुई साताको अभ्यासपछि नेपाल मलेसिया पुगेको हो। नेपालको लक्ष्य पाँच टिमलाई पछि पारेर युवा विश्वकपमा छनोट हुनेछ। मलेसिया उड्नुअघि नेपालका प्रशिक्षक विनोकुमार दासले नेपालको लक्ष्य युवा विश्वकप खेल्नु भएको र त्यसका लागि नेपाली टिम सक्षम रहेको बताएका थिए।
नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो। गत वर्ष न्युजिल्यान्डमा विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो।
आगामी फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुने आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। अफ्रिकाबाट नाइजेरियाले छनोट पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेको छ। अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन्।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भीम सार्की, रित गौतम, कमलसिंह ऐरी, रासिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी, सूर्य तामाङ
रमन सिवाकोटी– व्यवस्थापक
विनोदकुमार दास– प्रशिक्षक
विक्रम न्यौपाने– फिजियो
नेपालको खेल
चैत २९ – नेपाल भर्सेस सिंगापुर
चैत ३० – नेपाल भर्सेस युएई
वैशाख २ – नेपाल भर्सेस मलेसिया
वैशाख ३– नेपाल भर्सेस ओमान
वैशाख ५– नेपाल भर्सेस कुवेत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।