काठमाडौं– नेपाल प्रहरी क्लब राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन बनेको छ। प्रहरीले शुक्रबा सम्पन्न राखेप च्याम्पियनसिपअन्तर्गत ५० औं राष्ट्रिय कराते प्रतियोगिताको ८ स्वर्ण जितेको हो। १९ स्पर्धा समावेश प्रहरीले शनिबार र शुक्रबार ४–४ स्वर्ण जित्यो।
सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा त्रिभूवन आर्मी क्लब ६ स्वर्णसाथ दोश्रो भयो । नेपाली एपीएफ क्लब ४ स्वर्णसाथ तेश्रो बन्यो । विभागीय टोली बाहेक स्वर्ण जित्नेमा मध्यमाञ्चल मात्र रह्यो । बाँकी एक स्वर्ण मध्यमाञ्चलले हात पार्यो ।
पुरुषमा प्रहरीका रविन्द्र कार्की र महिलामा आर्मीकी कुसुम खड्का उत्कृष्ट खेलाडी चुनिए । रविन्द्रले ६० केजी तथा कुसुमले ४५ केजीमा स्वर्ण जितेका थिए । उत्कृष्ट भएवापत दुवैले समान १०–१० हजार, ट्रयाकसुट र सुट प्राप्त गरे ।
महिला ६१ केजीको प्रतिस्पर्धामा प्रहरीकी सुनिता महर्जन पहिलो भइन् । फाइनलमा सुनिताले आर्मीकी सनी लामालाई पराजित गरिन् । ६८ केजीमाथि आर्मीकी रिता कार्कीले फाइनलमा एपीएफकी कल्पना बस्नेतलाई हराउदै शीर्ष स्थान कब्जा गरिन् । ६८ केजीमुनि एपीएफकी रोजी ओझाले स्वर्ण जितिन् । फाइनलमा रोजीले आर्मीकी विभूषा थापालाई पाखा लगाइन् । ४० केजीमा मध्यमाञ्चलकी जिया खड्गीले स्वर्ण जित्न फाइनलमा प्रहरीकी एन्जिला धिमालको चुनौती पन्छाइन् । ४५ केजीमा आर्मीकी कुसुम खड्का पहिलो भइन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएकी कुसुमले एपीएफकी वर्षा बुढा मगरलाई फाइनलमा निराश पारिन् ।
पुरुष ७५ केजीमा प्रहरीका गंगाराम कुसुवार पहिलो बने । उनले फाइनलमा मध्यमाञ्चलका किशोर लामालाई पन्छाए । ८४ केजीमुनि एपीएफका भीम तामाङ पहिलो भए । उनले फाइनलमा प्रहरीका विप्लव श्रेष्ठमाथि जित दर्ता गरे । ८४ केजीमाथि प्रहरीका दिवस श्रेष्ठ च्याम्पियन बने । उनले फाइनलमा एपीएफका डिगम्बर पन्तलाई हराए । ५५ केजीमा प्रहरीका सोनाम लामाले उपाधि भिडन्तमा पूर्वाञ्चलका नवीन राईलाई पाखा लगाउदै पहिलो स्थान हात पारे । ६७ केजीमा एपीएफका विजय लामा पहिलो भए । उनले फाइनलमा मध्यपश्चिमाञ्चलका प्रकाश घर्ती मगरलाई पराजित गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।