लहान– सिराहाको गोलबजार नगरपालिका-११, बल्कवाका ५० वर्षीय रामअवतार सदाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
सदाको हत्या गरेको आरोपमा स्थानीय २० वर्षीय गोविन्द सदालाई प्रहरीले पक्राउ गरेको हो। गाेविन्दले सामान्य विवाद हुँदा चिर्पटले हानेर रामअवतारको हत्या गरेका प्रहरीले जनाएको छ।
चैत २५ गते मध्यराति आफ्नै घरमा सुतिरहेका बेला छानाबाट खसेको टायलले लागेर रामअवतार घाइते भएको भन्दै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। उपचारकै क्रममा चैत २७ गते उनको मृत्यु भएपछि अनुसन्धानका क्रममा घटनाको वास्तविकता खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले बताए।
प्रहरीका अनुसार चैत २५ गते बेलुका रामअवतार र गोविन्दका बीचमा विवाद भएको थियो। सोहि क्रममा गोविन्दले चिर्पटले रामअवतारको टाउकोमा र्हिकाएपछि उनी घाइते भएका थिए।
घटनामा संलग्न गोविन्दलाई नियन्त्रणमा लिई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसूरअन्तर्गत मुद्दा चलाइएको डिएसपी खरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।