काठमाडाैं- पूर्व न्यायाधीश फाेरमले सर्वाेच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले गरेकाे सिफारिसप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै फाेरमले गत चैत १९ गते गरेकाे न्यायाधीश सिफारिस न्यायपरिषद् ऐन तथा नियमावली विपरीत रहेकाे ठहर गरेकाे छ। न्यायाधीश हुनका लागि आवश्यक मापदण्ड नपुगेका व्यक्तिलाई पनि सिफारिस गरिएकाे फाेरमले जनाएकाे छ।
'न्यायाधीश हुनका लागि वरिष्ठता, अनुभव, कार्यकुशलता, इमानदारिता, चारित्रिक शुद्धता र न्यायपरिषद् ऐन तथा नियमावलीअनुसार अनिवार्यरुपमा पालना गर्नुपर्ने प्रक्रियाकाे समेत बेवास्ता गरी सर्वाेच्च तथा उच्च अदालतमा न्यायाधीशका लागि न्यायपरिषद्ले गरेकाे सिफारिसले न्यायपालिकाकाे गरिमामा आँच पुग्न गएकाे महशुस भएकाे छ', विज्ञप्तिमा भनिएकाे छ।
यस्ता कार्यले न्याय क्षेत्रसँग सम्बद्ध इमानदार तथा सक्षम व्यक्तिहरु हताेत्साहित हुनसक्नेतर्फसमेत फाेरमले सचेत गराएकाे छ। विज्ञप्तिमा यसकाे कार्यकाे परिणामस्वरुप न्याय सम्पादनकाे कार्यमा गम्भीर दुष्परिणाम निम्तिनसक्ने निश्चित भएकाेसमेत दाबी गरिएकाे छ।
संस्थाले सिफारिसका क्रममा गम्भीर बन्नसमेत सम्बन्धित सबै पक्षलाई आग्रह गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।