आम्स्टर्डम- युरोपियन च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्ट्स र नेदरल्यान्ड्सको अजाक्सले बराबरी खेलेका छन्। युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा दुई क्लब १-१ गोलको बराबरी खेलेका छन्।
खेलमा क्रिस्टियानो रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेर युभेन्ट्सलाई अग्रता दिलाएका थिए। उनको यो च्याम्पियन्स लिगमा १ सय २५औं गोल हो। जोआओ क्यान्सेलोको क्रसमा रोनाल्डोले डाइभ हेडरमार्फत बललाई जाली चुमाएका थिए।
पहिलो हाफको अन्तिममा खेलमा पछि परेको अजाक्सले दोस्रो हाफ सुरु भए लगत्तै बराबरी गोल फर्काउन सफल भयो। ४६ मिनेटमा डेभिड नेरेसले १६ यार्ड टाढाबाट उत्कृष्ट गोल गरेका थिए।
दुई टिमबीच दोस्रो लेग अप्रिल १६ मा युभेन्ट्सको घरेलु मैदानमा हुनेछ। विजेताले इंग्लिस क्लबहरु टोटनह्याम वा म्यानचेस्टर सिटी मध्ये एकसँग भिड्नेछ। जहाँ पहिलो लेगमा टोटनह्यामले सिटीमाथि १-० को जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।