काठमाडौं- आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले किंग्स ११ पञ्जावमाथि रोमाञ्जक जित हात पारेको छ।
गए राति भएकव खेलमा मुम्बईले पञ्जावमाथि ३ विकेटको जित हात पारेको हो। पहिले ब्याटिङ गरेको पञ्जावले ४ विकेटको क्षतिमा १ सय ९७ रन जोड्यो। जवाफी ब्याटिङ गरेको मुम्बईले अन्तिम बलमा ७ विकेटको क्षतिमा लक्ष्य पार गर्यो।
मुम्बईको जितमा केइरन पोलार्डले ८३ रन जोडे। उनले ३१ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको स्थितिमा अंकित राजपुतले पहिलो बलमा नो बल गरेको थिए। सो बलमा पोलार्डले छक्का हिर्काए। लगत्तै चौका हिर्काएका पोलार्ड त्यसपछि आउट भएका थिए।
पोलार्ड आउट हुँदा मुम्बईलाई जितका लागि ४ बलमा ५ रन चाहिएको थियो। जसमा अल्जारी जोसेफले सहज रुपमा रन लिए। अन्तिम बलमा २ रन लिएर जित दिलाएका जोसेफले नटआउट १५ रन जोडे। बलिङमा पञ्जावका मोहमद सामीले ३ विकेट लिए।
त्यसअघि पञ्जावका लागि लोकेश राहुलले नटआउट १०० रन जोडेका थिए। उनले ६४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। अर्का ओपनर क्रिस गेलले ३६ बलमा ६३ रनको योगदान दिएका थिए।
लिगमा ६ खेलबाट ८ अंक जोड्दै मुम्बई तेस्रो स्थानमा उक्लिएको छ। चौथो स्थानको पञ्जावले ७ खेलबाट ८ अंक नै जोडेको छ। चेन्नई १० अंकसहित शीर्ष र कोलकाता ८ अंकसहित दोस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।