जनकपुरधाम- राजपा नेता राजेन्द्र महतोले कांग्रेसका केही नेताको निजी स्वार्थकै कारण लोकतान्त्रिक गठबन्धनको गर्भमै हत्या गरिएको दाबी गरेका छन्।
धनुषाको घोरघासमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै महतोले कांग्रेसका केही नेताको निजी स्वार्थका कारण लोकतान्त्रिक गठबन्धनले पूर्णता नपाएको दाबी गरे। धनुषा-३मा आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वार विमलेन्द्र निधितर्फ इंगित गर्दै महतोले एउटा सिटमा पनि सम्झौता हुन नदिने नेताले लोकतान्त्रिक गठबन्धनमा भाँडभैलो मच्चाएको आरोप लगाए। कांग्रेसको नेतृत्वमा केही अरु दललाई समेटिएको गठबन्धनले कुनै अर्थ नराख्ने उनको भनाइ छ।
'ठूलो दलले ठूलो दिल देखाउनुपर्छ, सबै सिट आफै लिने र मधेसी नेतालाई प्रदेशसभा र राष्ट्रियसभाको ललिपप देखाएर राजनीतिक समाप्त पार्ने षड्यन्त्र कांग्रेस पार्टीले गरेको छ,' उनले भने।
संविधान संशोधन विफल गराउने षड्यन्त्रमा एमाले सँगसँगै कांग्रेसले पनि षड्यन्त्रकारी भूमिका खेलेको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।