काठमाडौं– करण चौधरीले चौथो राष्ट्रिय हर्स सो प्रतियोगिताको पुरुष हर्स सो जम्पमा स्वर्ण जितेका छन्। करण चौधरी समूहका व्यवसायी हुन्। उनी मारुती सुजुकी नेपालअन्तगर्त सिजी मोटर्सका कार्यकारी निर्देशक हुन्। करण फोब्स अर्बपति विनोद चौधरीका कान्छा भाइ अरुणका सुपुत्र हुन्।
यो स्पर्धा लालबहादुर कुँवर दोश्रो तथा राम दाहाल तेश्रो भए ।
नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघद्वारा आयोजित प्रतियोगिताको पुरुष टेन्ट पेगिङमा पर्शुराम बुढा मगर पहिलो, राजेन्द्र थापा दोश्रो र खतबहादुर कार्की तेश्रो भए ।
टुंडिखेलमा भएको प्रतियोगिताको पुरुष हाइ जम्प विधामा रामचन्द्र कट्वालले स्वर्ण तथा रामहरि खड्काले रजत जिते । यो विधामा भने करणले कांस्यमा चित्त बुझाउनु पर्यो। करण बाहेक सबै पदक विजेता आर्मीका हुन्। तीनै विधामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार जिते।
प्रतियोगिताका दौरान महिला खेलाडीले सिक्स बार जम्म विधामा प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए । आर्मीका हरिकुमारी गुरुङ, यामकुमारी राणा, सारदा केएम र कविता थापाले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए। उनीहरुलाई प्रोत्साहन स्वरुप जनही ४ हजार रुपैयाँ प्रदान गरियो ।
विजेतालाई सेना प्रमुख राजेन्द्र क्षेत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। एकदिने प्रतियोगितामा ९ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेको इक्वेस्ट्रियन संघका महासचिव बलराम श्रेष्ठले जनाएका छन् । प्रमुख जज मेजर विक्रम थापा, जज क्याप्टेन उमेश पुरी र मोहम्मद फाजिल र सहायक जुरी सन्तोष बुढाथोकीले प्रतियोगिता सञ्चालन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।