धनगढी– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले धनगढीस्थित एक पिउने पानी उद्योगमा सिल गरेको छ। धनगढी उपमहानगरपालिका– १, शिवनगर स्थित एमडी आरओ शुद्ध पिउने पानी उद्योगमा सिल गरेको हो।
कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरको नेतृत्वमा गएको टोलीले उद्योगले प्रशोधित पिउने पानी निर्देशिका २०७४ पालना नगरेको भेटिएपछि सिल गरेको थियो।
टोलीले खानेपानी उद्योगमा रहेका दुई ट्यांकीका सबै चारवटा धारामा सिलबन्दी गरेको थियो। उद्योगका बारेमा उजुरी परेपछि छापा हान्दा कैफियत भेटिएपछि उद्योग सिल गरेको अधिकृत कुँवरले बताए।
उद्योगले पानी प्रशोधन तथा प्याकेजिङ कक्ष र पानी प्रशोधन प्रालीमा प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिम नभएको, प्रशोधित पिउने पानी भर्ने जारमा लेबल विवरण उल्लेख नगरेको, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट विगत दुई वर्षदेखि अनुज्ञापत्र नवीकरण नगरेको जनाइएको छ।
अनुसन्धान अधिकृत कुँवरले भने, ‘पानी प्रशोधन गर्ने ठाउँ व्यवस्थित छैन। पानी जमेको छ भने पानी भर्ने धारामा कपडाले बेरेको छ।’
उनले शौचालय र पानी प्रशोधन केन्द्रसँगै भएपनि हात धुने, पानी भर्ने सँगै रहेको पाइएको बताए। उनले पानी उद्योगलाई अब निर्देशिकाअनुसार मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालनका लागि अनुमति दिइने जानकारी दिए।
‘प्रशोधित पिउने पानी निर्देशिका २०७४’ गतदेखि नै लागू भएको हो। खाद्य अनुसन्धान अधिकृत कुँवरले यहाँका अन्य खानेपानी उद्योगको अवस्थाबारे पनि अनुगमन गरिने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।