काठमाडौं– मुलपानी क्रिकेट मैदान (माथिल्लो) १० वर्षपछि खेल्नयोग्य बनेको छ। खेलाडी तथा नेपाल क्रिकेट संघ (क्यान) का कर्मचारीको पहलमा मैदान खेल्न योग्य बनेको हो।
खेलाडी तथा कर्मचारीको पहलमा गत चैतदेखि मैदान निर्माण कार्य थालिएको थियो। मैदान निर्माण समितिका संयोजक छुम्बी लामाका अनुसार मैदानमा शनिबार उद्घाटन खेल हुँदैछ । 'खेलाडी, प्रशिक्षक र कर्मचारको सक्रियतामा मैदान खेल्नयोग्य बनेको छ। शनिबार मैदानमा राष्ट्रिय टिमका खेलाडी र पूर्व राष्ट्रियबीच टी–२० खेल खेलेर मैदानको उद्घाटन गर्ने कार्यक्रम छ,' लामाले नेपाल लाइभसँग भने ।
मैदानमा बिहीबार राष्ट्रिय टिमका खेलाडीले अभ्यास समेत गरेका थिए। मैदानमा सातवटा पिचको बेस भए पनि अहिले चारवटा मात्र पिच बनाइएको छ।

निर्माणकार्य अन्योलग्रस्त बनेपछि क्यानका कर्मचारी, राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरूले गत असोजमा मैदान बनाउन तत्कालीन खेलकुदमन्त्री दलजित श्रीपालीलाई ज्ञापनपत्र बुझाएका थिए। कर्मचारी तथा खेलाडीले चासो देखाएपछि मन्त्रालयले मैदान खेल्नयोग्य बनाउन आवश्यक पर्ने १६ लाख ४३ हजार रुपैयाँ बजेट छुट्याउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्दशन दिएको थियो।
मैदानलाई खेल्न योग्य बनाउन राखेप र निर्माण समितिबीच पिचलाई पूर्णता दिने, मैदानको सतह मिलाउने र तारबार लगाउने सम्झौता भएको थियो।
मैदान निर्माण समिति संयोजकमा क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत लामा तथा खेलाडीका तर्फबाट ज्ञानेन्द्र मल्ल, पूर्वखेलाडी विनोद दास, अम्पायर विनयकुमार झा र दुईजना स्थानीयवासी छन्।
सन् २००७ देखि नेपाल क्रिकेट संघ (क्यान) ले मैदान निर्माण थालेपनि क्यानको आन्तरिक विवादले निर्माण कार्यमा ढिलाइ भएको थियो। क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निलम्बनमा परेपछि निर्माण ठप्प थियो।
मुलपानी मैदान निर्माण कार्यमा अहिलेसम्म ७ करोड लगानी भए पनि खेल्न योग्य बनाउन सकिएको थिएन। मैदानमा ४ करोड खर्चेर पेभिलियन निर्माण गरिएको थियो। ०६६ मा पाकिस्तानी क्युरेटरले मैदानको मध्यभागमा पिच बनाएका थिए। ०६९ मा ६५ लाख लगानीमा पर्खाल बनाएपछि मैदान निर्माणकार्य रोकिएको थियो।
मुलपानीमै सरकारले निर्माण गरिएको तल्लो मैदान सुस्त गतिमा अघि बढेको छ। तल्लो मैदानमा प्याराफिट र पेभेलियन बनाइसकिएको छ। पीच र मैदानको लेकलिङ गर्ने काम बाँकी छ। मैदानको जग्गाको मुआब्जाको विवाद जारी रहेकाले मैदान निर्माणमा ढिलाइ भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।