चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरदैलो अभियान सुरु गरेका छन्।
भरतपुर महानगरपालिका–१३ को उज्वलनगरबाट उनले घरदैलो अभियान थालेका हुन्। घरदैलोका क्रममा स्थानीयले ज्येष्ठ नागरिक दिवा परियारले नजिकैको वनबाट वन्यजन्तु आएर दुःख दिने गरेको गुनासो प्रचण्डसामु राखे।
अर्की ज्येष्ठ नागरिक मुनि न्यौपानेले नाम मात्र सुनेको ‘प्रचण्ड’लाई भेट्न पाउँदा खुसी लागेको बताइन्। ज्येष्ठ नागरिक बिबा परियारले आग्रह थियो- प्रचण्ड सधैं चितवनमै बसेर जिल्लाको विकास गरिदिऊन्।
घरदैलो क्रममा अन्य नागरिकले पनि जंगली जनावर र खोलाको त्रास हटाइदिन आग्रह गरेका थिए।
सो क्रममा अध्यक्ष दाहालले आधुनिक मेस र जाली निर्माण गर्ने तथा तटबन्ध गरेर नदी कटान रोक्ने आश्वासन दिए।
कात्तिक २७ गतेसम्म चितवन रहने अध्यक्ष दाहालले नियमित घरदैलो अभियान र सभा, सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
घरदैलो अभियान सुरु गर्नुअघि दाहालले उज्वलनगर चोकमा प्रचार कार्यालयको उद्घाटनसमेत गरे। सो अवसरमा उनले चितवन र समग्र राष्ट्रको समृद्धिका लागि आफूले चितवनलाई रोजेको बताउँदै निर्वाचनपछि वाम गठबन्धनको बहुमत आउने र मुलुकमा स्थिर सरकारसँगै देश आर्थिक समृद्धिमा लाग्ने धारणा व्यक्त गरे।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।