जाग्रेब– फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ अन्तर्गत युरोप प्ले अफमा क्रोएसिया र स्विट्जरल्यान्ड विजयी भएका छन्। बिहीबार राति भएको खेलमा क्रोएसियाले ग्रिसलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो। स्विट्जरल्यान्डले उत्तरी आयरल्यान्डमाथि १–० गोलको जित निकाल्यो।
क्रोएसियाका लागि लुका मोड्रिकले १३ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर अग्रता दिलाए। १९ मिनेटमा कालिनिकले अग्रता दोब्बर पारे। ३० मिनेटमा ग्रिसका पापस्टा थोपोलोटले गोल गरेर क्रोएसियाको अग्रता २–१ मा झारे। क्रोएसियाका लागि थप गोल पेरिसिकले ३३ तथा क्रामारिकले ४९ मिनेटमा गरे।
स्विटरल्यान्डको जितमा ५८ मिनेटमा रिकार्डो रोद्रिगेजले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
विश्वकप छनोट अन्तर्गत आज राति इटाली र स्विडेनबीच प्रतिस्पर्धा हुँदैछ।
यस्तै आज राति नै अफ्रिका छनोटको समूह डीको खेलमा दक्षिण अफ्रिका र सेनेगलबीच भिडन्त हुँदैछ। यस्तै समूह बीमा अल्जेरिया र नाइजेरियाबीच पनि प्रतिस्पर्धा हुँदैछ।
प्ले अफमा अस्ट्रेलिया तथा होन्डुरसबीच पनि शुक्रबार राति नै खेल हुँदैछ।
डेनमार्क र आयरल्यान्ड गणतन्त्र तथा पेरु र न्युजिल्यान्डबीच भने पर्सि खेल हुनेछ।
पहिलो लेगको खेलपछि मंगलबारदेखि दोस्रो लेग सुरु हुनेछ।
फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि अहिलेसम्म २३ देशले स्थान पक्का गरिसकेका छन्। बाँकी ९ स्थानको टुंग्गो अबको एक महिनाभित्र लागिसक्नेछ।
विश्वकपमा युरोपबाट १० टिमले विश्वकपमा स्थान बनाइसकेका छन्। जसमा आयोजक रसियासहित स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया र आइसल्यान्ड छन्।
एसियाबाट छनोट भएका देशमा इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छन्।
उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको, कोस्टारिका र पानामाले विश्वकपमा स्थान पक्का गरेका छन्।
दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया छनोट भएका छन्।
अफ्रिकाबाट नाइजेरिया र इजिप्टले विश्वकपमा स्थान बनाएका छन्। अफ्रिकाबाट अब ३ टिम छनोट हुन बाँकी छ। बाँकी ६ स्थानको टुंगो प्ले अफबाट लाग्नेछ। जसमा १२ टिम छनोट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।