काठमाडौं (एजेन्सी)– भारतको राजधानी नयाँ दिल्ली लगायत योसँग जोडिएको अन्य क्षेत्रमा बाक्लो कुहिरो र प्रदूषणका कारण करिब ३० हजार मानिसको ज्यान जोखिममा रहेको बताइएको छ।
भारतीय मिडियाहरुले चिकित्सकको भनाइ उल्लेख गर्दै विषाक्त धुवाँ फैलिएका कारण दिल्लीका जनताहरुमा श्वासप्रश्वास सम्बन्धी रोग लाग्न सक्ने बताइएको छ। यसबाट सजग रहन स्थानीयवासीलाई अपील गरिएको छ।
मौसमविद्हरुले शुक्रबार पनि स्थानीयवासीले विषाक्त धुवाँ र बाक्लो कुहिरोको सामना गर्नुपर्ने बताएका छन्। बिहीबार कुहिरो र धुवाँका कारण दिल्लीको जनजीवन अस्तव्यस्त बनेको थियो। दिल्ली–एनसिआरमा कुहिरोको प्रभाव अत्याधिक देखिएपछि सरकारले स्थानीय स्कुलहरु बन्द गर्ने घोषणा गरेको थियो।
बिहीबार मात्र ४१ वटा ट्रेन ढिलो भएको र १० वटा ट्रेनको सवारी रद्द गर्नुपरेको थियो। दिल्लीमा साँझ ५ बजेतिर दृश्यताको स्तर ८ सय मिटरसम्म पुगेको थियो। राजधानीको ट्राफिक प्रभावित बन्दा बाटोमा गुडिरहेका गाडीहरु एकअर्कासँग ठोकिएका थिए।
दिल्लीको एयर क्वालिटी इन्डेक्सले पञ्जाबी बागमा सबैभन्दा धेरै ७ सय ९९, यसपछि आनन्द विहारमा ५ सय १५, शादीपुर डिपोमा ३ सय ६२ र द्वारकामा ३ सय ८८ प्रदूषण नापेको थियो। स्वास्थ्य मन्त्रालयले बिहीबार एउटा एडभाइजरी जारी गर्दै सबैलाई सावधान रहन सुझाव दिएको छ।
दिल्लीको अवस्था दिनहुँ बिग्रिन थालेपछि ‘अड–इभन’ फर्मुलालाई कडाइका साथ लागू गर्न लागिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।