चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादीबीच पार्टी एकीकरणका विषयमा जनयुद्धका बेला ५०औं पटक वार्ता भइसकेको बताएका छन्।
अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) द्वारा संयुक्त आयोजित वाम गठबन्धनको संयुक्त महिला भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले जनमुक्ति सेनाको घेराबीचमा रोल्पाको रोसेवाङ्गमा दुई पार्टीबीचमा लिखित सम्झौता भएपछि मात्रै १२ बुँदे समझदारी भएको बताए।
उनले भने, 'सशस्त्र द्वन्द्वको १० वर्षभित्र लगातार ५०औं पटक दुई पार्टीका बीचमा वार्ता भएको छ,' उनले थपे, 'एमाले र माओवादीबीच पहिलो लिखित सम्झौता रोल्पामा भएको हो, जसमा संविधानसभामा जाने, सामन्तवादविरुद्ध जाने उल्लेख थियो।' त्यसले अहिले आधारशिलाको काम गरेको उनको भनाइ थियो।
मदन भण्डारी जीवित रहँदै कम्युनिस्ट पार्टी एक हुनुपर्छ भनेर आफूसँग छलफल भएको उनले स्मरण गरे। माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि धेरै पटक पार्टी एकीकरणको प्रयास भएको बताउँदै उनले भने, 'पहिलो संविधानसभाको निर्वाचनअघि धेरै पटक पार्टी एकीकरणको प्रयास भएको थियो । त्यतिबेला लिखित दस्तावेज बनाइयो, तर सफल भएन।'
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले एक महिनापछि दुई तिहाई बहुमतको वामपन्थी सरकार बनाइने दाबी गरे।
कार्यक्रममा महिला संघका उपाध्यक्ष सीता पौडेल, महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य शर्मिला विक, एमाले जिल्ला सचिव पार्वती रावल, महिला संघ (क्रान्तिकारी) जिल्ला संयोजक संगीता भट्टराई लगायतले बोलेका थिए। कार्यक्रममा ५०१ सदस्यीय संयुक्त वाम महिला चुनाव परिचालन कमिटीसमेत गठन गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।