सुर्खेत– सुर्खेत जिल्लाबाट ठूला राजनीतिक दलहरूले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ एक जना पनि महिला उम्मेदवार बनाएनन्। ठूला पार्टीले महिलालाई उम्मेदवार बनाउन कञ्जुस्याइँ गरे पनि केही साना दलले भने महिलालाई टिकट दिएका छन्।
राष्ट्रिय जनमोर्चाले कृष्णा रावल, नेपाल मजदुर किसान पार्टीले रमा गुरुङ र विवेकशील साझा पार्टीले रम्मा आचार्यलाई उम्मेदवार बनाएको हो। यी तीनै जना महिला उम्मेदवारले अधिकांश पुरुष उम्मेदवारहरुसँग प्रतिस्पर्धा गर्दै छन्।
उनीहरु महिला पनि पुरुषभन्दा कमजोर नभएको भन्दै प्रतिस्पर्धामा सहभागी भएको बताउँछन्।
‘महिलाहरु पुरुषभन्दा कमजोर छैनन्’
कृष्णा रावल, प्रतिनिधिसभा सदस्य उम्मेदवार, सुर्खेत क्षेत्र नं. २
राष्ट्रिय जनमोर्चा सुर्खेतकी उपाध्यक्ष कृष्णा रावलले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी छिन्। रावलले प्रत्यक्षतर्फ पुरुषसँग प्रतिस्पर्धा गर्न कठिन भए पनि महिला भएका कारण महिलाको भोट आउने र संगठनको आधारमा आफूले जित्ने सम्भावना रहेको बताइन्।
उनले भनिन्, ‘महिला उम्मेदवार भएका कारण र संगठन नै मेरो जितको आधार हो।’
०३० सालमा दैलेखको नारायण नगरपालिका ८ मा जन्मिएकी कृष्णाको राजनीतिक यात्रा ०५४ सालदेखि सुरु भएको हो। दैलेखबाट सुरु भएको राजनीतिक यात्राका क्रममा उनले राष्ट्रिय जनमोर्चा पार्टीको साधारण सदस्य हुँदै जिल्लाको सहसचिवसम्म भएर काम गरिन्। उनी ०५८ सालमा अखिल महिला संघको अध्यक्ष पनि भइन्।
०६५ सालमा सुर्खेत आएकी कृष्णा पार्टीको जिल्ला कोषाध्यक्ष भइन्। महिला संघको अध्यक्ष पदमा रहेर पनि काम गरेकी उनी पार्टीको केन्द्रीय सदस्य पनि भइन् । ०७० सालको संविधानसभा चुनावमा सुर्खेत क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको उम्मेदवार भइसकेकी उनी अहिले प्रत्यक्षतर्फबाट नै क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा उम्मेदवारी दिएकी छिन्।
ठूला दलहरुले सुर्खेतमा प्रत्यक्षतर्फ एक जना पनि महिला उम्मेदवार नउठाएकाले ती दल महिलाप्रति अनुदार रहेको कृष्णाको टिप्पणी छ। तर, जनमोर्चाले भने महिलालाई प्राथमिकता दिँदै आएको उनी बताउँछिन्।
‘ठूला भनिएका दलहरुले महिलालाई समानुपातिकमा सीमित गर्ने गरेका छन्, यसले महिलाको क्षमता र योग्यतामाथि अपमान भएको छ’, उनले भनिन्।
महिलाहरु पनि पुरुषहरुभन्दा कम नभएको भन्दै रावल हरेक दलले महिलाहरुलाई पनि समान सहभागितामा जोड दिनुपर्ने बताउँछिन्। उनी महिलाका मुद्दा स्थापित गर्न नेतृत्वमा पनि महिला नै पुग्नुपर्ने भन्दै यो निर्वाचनमा सबै महिला मतदाताले महिला उम्मेदवारलाई जिताउन आग्रह गर्छिन्।
रावलले यो निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानी, नेकपा एमाले सुर्खेतका पूर्व अध्यक्ष एवम् प्रदेश नम्बर ६ का सदस्य नवराज रावत लगायतका पुरुष उम्मेदवारहरुसँग चुनावी प्रतिस्पर्धा गर्दै छिन्।
‘अवसर लिन महिलाहरु आफैं अघि सर्नुपर्छ’
रमाकुमारी गुरुङ, प्रदेशसभा सदस्य उम्मेदवार, सुर्खेत क्षेत्र नं. २ (क)
नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फबाट रमाकुमारी गुरुङलाई उम्मेदवार बनाएको छ। उनले मंसिर २१ गते हुने निर्वाचनमा पूर्वमन्त्री एवं एमालेका पोलिटब्युरो सदस्य यामलाल कँडेल, कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी लगायत पुरुष उम्मेदवारहरुसँग प्रतिस्पर्धा गर्दै छिन्।
०२६ सालमा गुराँस गाउँपालिकामा जन्मिएकी रमाको राजनीतिक यात्रा ०४६ सालदेखि सुरु भएको हो। बाल्यकालदेखि नै राजनीतिमा चासो राख्ने रमाले विद्यार्थीकालबाट राजनीति सुरु गरिन्। ०४६ सालको आन्दोलनमा सक्रियरुपमा लागेकी रमा त्यसपछि नै नेपाल मजदुर किसान पार्टीमा आबद्ध भइन्। अन्य दलको भन्दा नेमकिपाको सिद्धान्त मन परेकाले उनले सो पार्टीलाई रोजिन्। उनले ०४७ सालमा नेपाल महिला संघ दैलेखको जिल्ला सदस्य भएर काम गरिन्।
०४८ देखि ०५६ सालसम्म कुसापानी दैलेखमा शिक्षक भएर अध्यापन गरेकी उनी माओवादीको सशस्त्र द्वन्द्वको बेला ०५८ सालमा जागिर छोडेर भारत गइन्। १३ वर्ष भारतमा बसेकी रमाले ०७१ सालमा नेपाल फर्केर आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिइन्।
आफूले जितेमा क्षेत्र नम्बर २ को समृद्धि र विकासमा लागिपर्ने उनको प्रतिबद्धता छ। आफूले जितेमा महिलालाई सशक्तिकरण गर्दै आत्मनिर्भर बनाउने योजनाहरू ल्याउने उनले बताइन्।
उनले भनिन्, ‘हाम्रो पार्टीले अरुभन्दा फरक विचारधारासहित प्रस्तुत हुँदै शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने माग राख्दै आएको छ। भष्टाचार विरुद्ध र देश विकासका लागि आवाज उठाउँदै आएको छ। त्यसैले सैद्धान्तिक रुपमा जनताले आफ्नो मतको प्रयोग गर्नुहुनेछ।’
राजनीतिमा सक्षम महिलाहरु भए पनि पछाडि पार्ने गरिएको भन्दै रमाले अवसर लिनका लागि महिलाहरु आफैं अघि सर्नुपर्ने बताइन्। नीति निर्माण गर्नेदेखि नेतृत्व गर्नेसम्मका स्थानमा महिलाहरुको पहुँच नबढाएसम्म विभेदको सामना गरिरहनुपर्ने उनको भनाइ छ।
जुनसुकै राजनीतिक दलमा आबद्ध भए पनि महिलाहरुले महिलाको मुद्दामा एकताबद्ध भएर नेतृत्वमा पुर्याउन सामूहिक प्रयास गर्नुपर्ने उनको धारणा छ। अधिकांश पुरुष उम्मेदवारहरुसँग प्रतिस्पर्धा गरेर आफूले निर्वाचन जित्ने उनको दाबी छ।
‘मैले जित्ने आधार बलियो छ’
रम्मा आचार्य, प्रतिनिधिसभा सदस्य उम्मेदवार, सुर्खेत क्षेत्र नं. १
रम्मा आचार्य ६ महिनाअघि मात्रै विवेकशील साझा पार्टीमा आबद्ध भएकी हुन्। उनले प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट राष्ट्रिय राजनीतिमै स्थापित कांग्रेसका पूर्वसहमहामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का तथा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीजस्ता ‘हेभीवेट’ नेतासँग चुनावी प्रतिस्पर्धा गर्दै छिन्।
पहिलो पटक निर्वाचनमा उम्मेदवार बनेकी उनलाई चुनाव जित्छु भन्ने आत्मविश्वास छ। भन्छिन्, ‘मेरो पार्टीको नीति र एजेन्डा मतदाताले मन पराएकाले उहाँहरुले मलाई भोट दिनुहुनेछ भन्ने विश्वास छ।’
मतदाताले व्यक्तिभन्दा पनि असल नीति र नेतृत्व छनोट गर्ने भएकाले आफूले जित्ने उनको दाबी छ।
उनले भनिन्, ‘अरु पार्टीको भन्दा हाम्रो एजेन्डा र उद्देश्य फरक छ। सबैले आस गरेको पार्टी भएकाले जित्ने आधार बलियो छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।