काठमाडौं- शैक्षिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको लमजुङ दुराडाँडामा ‘ऐतिहासिक दुराडाँडा महोत्सव–२०७६’ हुने भएको छ।
दुराडाँडा सेवा समाज र दुरा सेवा समाजको मुख्य आयोजनामा ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न बैसाख १ देखि ३ गतेसम्म उक्त महोत्सव गर्न लागिएको हो।
महोत्सव आयाेजक मुल समाराेह समितिले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी विसं २००६ मा उच्च जातिले हलो जोतेर ‘हलो क्रान्ति’ गरेको स्थान दुराडाँडामा महोत्सव गर्न लागिएको जानकारी दिएको छ।
दुराडाँडा सेवा समाजका अध्यक्ष इञ्जिनियर निर्मल न्यौपानेले दुराडाँडाको ऐतिहासिक पहिचान, शान र मानलाई जीवन्त राख्न महोत्सव आयोजना गर्न लागेको जानकारी दिए। दुरा समाज नेपालका अध्यक्ष गोकुलप्रसाद दुराले दुराडाँडा क्षेत्रमा बसोबास गर्ने दुरालगायत विभिन्न जातजातिको भाषा, संस्कृति एवं स्थानीय लोककला, लोकलय, धार्मिक अनुष्ठान संरक्षण र संवर्द्धन गर्न महोत्सव आयोजना गरिएको बताए।
शैक्षिक क्षेत्रको महत्वपूर्ण स्थलका रुपमा रहेको दुराडाँडा क्षेत्रमा कालिका मन्दिर, पुरानकोट, हलोक्रान्ति स्थल, कोटेश्वरधाम बरबोट, हेसे होइतुङ गुम्बा, मालिका देवी, सुरभी गाईफार्म, विपी उद्यानलगायतका अवलोकन स्थल रहेका छन्।
नेपाल राष्ट्र निर्माणको सुरुवात गर्ने पृथ्वीनारायण शाहका पूर्वज यशोब्रह्म शाहलाई विसं १५५० असार १५ मा सिन्दुरे ढुङ्गामा सिन्दुरजात्रा गरेर राजगद्दी गरेको ठाउँसमेत दुराडाँडामा पर्छ। दुराडाँडा क्षेत्रमा साविकको दुराडाँडा, चन्द्रेश्वर, धुसेनी, सिन्दुरे, नेटा र पुरानकोट गाउँ विकास समिति समेटिएका छन्।
दुराडाँडाभित्र कृषि, ग्रामीण पर्यटन, पर्यापर्यटन, खेल पर्यटन, लोककला, शिक्षा, महिला सशक्तीकरणलगायतको विकासका लागि महोत्सव गर्न लागिएको समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।