काठमाडौं– सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबल छनोटमा नेपालले सान्त्वना जित हात पारेको छ।
मंगलबार म्यानमारमा भएको खेलमा नेपालले इन्डोनेसियालाई २–१ गोलले पराजित गरेको हो। यद्यपी दुवै टिम यसअघि लगातार दुई खेलमा पराजित हुँदै छनोटबाट बाहिरिएका थिए।
नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरिन्। सावित्राले दुवै हाफमा १–१ गोल गरेपछि नेपालले जित हात पारेको थियो। सावित्राले खेलको ३६ र ८९ मिनेटमा गोल गरेकी थिइन्। इन्डोनेसियाका लागि सालिहले ४७ मिनेटमा बराबरी गोल फर्काएकी थिइन्।
नेपाल शनिबार भएको दोस्रो खेलमा भारतसँग ३–१ गोलले पराजित भएको थियो। बुधबार भएको पहिलो खेलमा नेपाललाई घरेलु टिम म्यानमारले ३–१ गोलले नै पराजित गरेको थियो।
छनोटमा नेपाल, भारत, म्यानमार र इन्डोनेसिया समूह ‘ए’ मा थिए। प्रतियोगिताबाट १ टिममात्र तेस्रो चरणमा पुग्ने भएकाले नेपाल लगतार दोस्रो हारसँगै बाहिरिएको थियो।
समूहबाट आयोजक म्यानमार तेस्रो चरणमा पुगेको छ। मंगलबार भएको अन्तिम खेलमा भारतसँग ३–३ गोलको बराबरी खेले पनि म्यानमार गोलअन्तरमा अघि रहदै दोस्रो चरणमा पुगेको हो। यसअघि म्यानमारले नेपाललाई ३–१ र इन्डोनेसियालाई ६–० ले हराएको थियो। भारतले नेपाललाई ३–१ र इन्डोनेसियालाई २–० ले पराजित गरेको थियो।
यसअघि म्यानमारमै भएको पहिलो चरणको छनोटमा पनि म्यानमार, नेपाल, भारत र बंगलादेशले प्रतिस्पर्धा गरेका थिए । अंक तालिकामा नेपाल म्यानमार र भारतभन्दा पछाडि परेको थियो। यद्यपी नेपाल उत्कृष्ट तेस्रो टिमका रूपमा छनोटको दोस्रो चरणमा अवसर पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।