काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान)को आह्वानमा अस्पताल बन्द भएपछि नागरिकको स्वास्थ्य अधिकार हनन भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
गोदानले समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै ५ दिनदेखि देशभरका सरकारी अस्पतालहरुमा हडताल जारी राखेका छन्।
चिकित्सकहरुले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्दा घाइते तथा बिरामीहरुको स्वास्थ्य अधिकारमा गम्भीर असर परेको अनुगमनको क्रममा पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उसले यस्ता कार्यबाट आमनागरिकको स्वास्थ्यसँग सम्बन्धित अन्य प्रचलित कानुन समेतको विपरीत कार्य भएको उसले बताएको छ।
'स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा ५ दिनदेखि ठप्प हुँदा समेत सम्बन्धित निकायबाट सुचारु गर्न पहल नुहुनु अत्यन्त दुःखद् स्थिति हो', विज्ञप्तिमा उल्लेख छ।
आयोगले अस्पताल बन्दका कारण लाखौं मानिसको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील हुँदै स्वास्थ्य जस्तो गम्भीर र अत्यावश्यक सेवाप्रति जिम्मेवारी बोध गरी पेशागत मर्यादा कायम राखी सेवा प्रदान गर्न चिकित्सकहरुलाई आग्रह गरेको छ।
'पेशागत क्षेत्रमा देखिएका असन्तुष्टि तथा अस्पष्टतालाई सार्थक वार्ता र संवादबाट समाधान गर्न आयोग गोदान तथा नेपाल सरकारलाई आग्रह गर्दछ', विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।