काठमाडौं- काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी बैसाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ। विद्यालयबाहिर रहेका बालबालिकालाई पढाइकाे पहुँचमा ल्याउने उद्देश्यले अभियान सुरु गर्न लागिएको कामपाको शिक्षा विभागले जनाएको छ।
विभागले आज यहाँ आयोजना गरेको सकारात्मक सोच विकास र गुणस्तरीय शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा विभागकी शिक्षा अधिकारी निर्मला केसीले बैसाख २ देखि १४ गतेसम्म भर्ना अभियान सञ्चालन हुने जानकारी दिइन्। उनका अनुसार अभियान सकिएपछि १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम गरिनेछ।
भर्ना अभियानसँगै आउँदो शिक्षा दिवस अगावै महानगरलाई साक्षर नगर घोषणा गर्ने योजनाअनुसार काम भइरहेको उनले बताइन्। अभिमुखीकरण कार्यक्रम सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीका लागि आयोजना गरिएको थियो।
देशको भार थाम्नुपर्ने विद्यार्थीलाई असल बनाउने जिम्मेवारी पाएका शिक्षक सकारात्मक र सृजनात्मक भए मात्र असल नागरिक निर्माण हुन सक्ने धारणा महानगरको प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलियाले राखे।
काठमाडौं महानगरमा ९१ सामुदायिक र ६ सय ४५ संस्थागत गरी ७ सय ३६ वटा विद्यालय छन्। यी विद्यालयमा २ लाख ३ हजार ९ सय ७१ जना विद्यार्थी अध्ययनरत छन्। यसमध्ये १ लाख ५८ हजार ९ सय ७१ विद्यार्थी संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन्।
शिक्षा विभागका अनुसार महानगर क्षेत्रभित्र ५ वर्षमाथि १० वर्षसम्म उमेर समूहका करीब ३ प्रतिशत बालबालिका विद्यालयबाहिर छन्। सहरमा छोटो र लामो समयका लागि बसोबास गर्न आउने तथा श्रममा आबद्ध अभिभावकका कारण विद्यालय भर्ना हुन बाँकी बालबालिकाको यकिन तथ्याङ्क प्राप्त हुन कठिन भएको विभागको भनाइ छ।
‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऔँ’ नारासहित भर्ना अभियान सुरु गर्न लागिएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।