काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध हुने सातौं चरणको खेलका लागि नेपालले बिहीबारबाट तयारी सुरु गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट अनुमति पाएसँगै तयारी सुरु गर्न लागेको नेपालका प्रशिक्षक जगत टमाटाले नेपाल लाइभलाई जानकारी दिए। नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेसँगै नेपाली टिमको व्यवस्थापन आइसिसीले हेर्दै आएको छ।
पहिलो चरणको तयारीमा २८ जना खेलाडी सहभागी हुने टमाटाले बताए। हङकङ विरुद्ध खेलको तयारीका लागि पहिलो चरणमा छानिएका २४ जना पुरानै खेलाडी हुनेछन्। पुराना खेलाडीमध्ये अभिनास कर्ण टिममा अटाएका छैनन्। टिममा अनिल मण्डलले पुनरागमन गरेका छन् भने ब्याट्सम्यान सिद्धान्त लोहनी पनि राष्ट्रिय टिममा फर्किने भएका छन्। यू–१९ टिमका दुई खेलाडीलाई पनि मौका दिइनेछ। यद्यपि उनीहरुको नाम सार्वजनिक गरिएको छैन।
प्रशिक्षक टमाटाले बिहीबारबाट मलेसियामा सुरु हुने यू–१९ एसिया कपमा उत्कृष्ट खेल्ने २ जनालाई सिनियर टिममा मौका दिइने बताए।
तयारी बिहीबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
यो पनि : एकदिवसीय मान्यताको निर्णय विश्वकप छनोटपछि, नेपालको सम्भावना कति ?
डब्लुसिएल च्याम्पियनसिपको सातौं चरणमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा प्रतिस्पर्धा हुँदैछ। खेल अबुधावीको शिख जायेद रंगशालामा हुनेछ। दुवै टिम डिभिजन–२ मा झरेकाले खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।
यस्तो छ पहिलो चरणको टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललितसिंह भण्डारी, सुसन भारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, जितेन्द्र मुखिया, नरेश बुढाऐर, मेहबुब अालम, कुशल भुर्तेल, दिलिप नाथ, सौरभ खनाल, अनिल मण्डल, हसिम अन्सारी, बिक्रम शोव, सुनील धमला, शक्ति गौचन, सिद्धान्त लोहनी र २ जना यू–१९ खेलाडी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।