काठमाडौं– एएफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह 'ए' को छनोट प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेको छ। समूहमा लगातार ३ खेलमा पराजित भएर छनोट हुन असफल भएको नेपाल चौथो खेलमा पनि पराजित भयो।
किर्गिस्तानको बिश्केकमा बुधबार भएको समूह चरणको चौथो खेलमा नेपाललाई ओमानले ५–० गोलले पराजित गरेको हो। योसँगै नेपालले प्रतियोगिताका ४ खेलमा १२ गोल खायो भने एक गोल पनि फर्काउन सकेन।
यसअघि नेपालले किर्गिस्तानसँग २–०, बहराइनसँग ४–० र युएईसँग १–० को हार बेहोरेको थियो।
समूह 'ए' मा लगातार तीन खेलमा जित निकालेको युएई समूह विजेता बन्दै एक वर्षपछि इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा छनोट भएको छ। निर्णायक खेलमा नेपाललाई पराजित गरेको ओमान समूहमा दोस्रो भएको छ। दोस्रो भएको ओमानको पनि छनोट हुने सम्भावना छ।
सन् २०१८ को अक्टोबरमा इन्डोनेसियामा हुने एएफसी यू–१९ च्याम्पियनसिपमा १६ टिमबीच प्रतिस्पर्धा हुनेछ । छनोट प्रतियोगिताको समूहमा शीर्ष स्थान हात पार्ने १० टिम तथा दोस्रो स्थान हात पारेका ५ टिम छानिनेछन् । एन्डोनेसिया भने आयोजकको रुपमा छनोट भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।